काठमाडौं । ललितपुर मेयर कप महिला च्याम्पियनसिपमा एपीएफले लगातार तेस्रो जित निकालेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ललितपुर मेयर–११ विरुद्ध आठ विकेटको सहज जित निकालेको हो । खेलमा ललितपुरले प्रस्तुत गरेको ७२ रनको लक्ष्य एपीएफले ९.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
एपीएफलाई जित दिलाउन कप्तान सीता रानामगरले ५० रन बनाइन् । उनले ३५ बलमा आठ चौका प्रहार गरिन् । यस्तै, मम्ता चौधरीले १६ रन जोडिन् । इन्दु वर्मा र रोमा थापा समान एक रनमा अविजित रहे ।ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७१ रनको योगफल खडा गरेको थियो ।