शनिबार, जेठ ५ गते २०८१

वाफ वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

वाफ वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

अखबार दैनिक
शुक्रबार, फागुन ४ २०८०
  • वाफ वुमन्स च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

    ४ फागुन, काठमाडौं । साउदी अरेबियामा यही फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ ।

    images

    अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीको बिदाइ गरेको हो ।

    एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, एन्फा महासचिव किरण राई लगायतले टोलीलाई बिदाइ गरे ।

    नेपाली टोली आजै साउदी प्रस्थान गर्दैछ । नेपाली टोलीलाई आमन्त्रित टिमको रुपमा प्रतियोगिता खेल्न निम्ता आएको थियो र त्यसैलाई स्वीकार गर्दै नेपाल खेल्न जान लागेको हो ।

    नेपालले साफ च्याम्पियनसिप, एसियन कप छनोट, ओलम्पिक छनोट जस्ता नियमित प्रतियोगिता खेल्दै आएको र यो फरक किसिमको प्रतियोगिता खेल्न लागेको एन्फा अध्यक्ष नेम्वाङले बताए । यसले महिला टिमलाई थप एक्सपोजर प्राप्त हुने उनले बताए ।

    भारतमा लिग खेलेर आएका खेलाडी र फ्रेन्च लिग खेलिरहेका सावित्रा भण्डारी टिममा हुँदा त्यसले अझ फाइदा पुग्ने नेम्वाङले बताए ।

    WAFF-Womens-Championship-Team-Farewell.jpg

    नेपाली टोलीमा ३ नयाँ अनुहार
    नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ छन् भने टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बाले गर्दैछिन् । यसअघि १९औं एसियन गेम्समा नेपालको कप्तानी सम्हालेकी रेनुका नगरकोटे अहिले टिममा छैनिन् । यस्तै १९ औं एसियाड दौरान घाइते भएकी सरु लिम्बु पनि अहिले टोलीमा छैनिन् ।

    नेपाली टोलीमा तीन नयाँ अनुहार छन् । डिफेण्डर सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्रा भण्डारीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

    कप्तान एन्जिलासहित गीता राना, अमृता जैशी, प्रिती राई, दीपा शाही र रश्मी कुमारी घिसिङ भारतमा जारी इन्डियन वुमन्स लिग खेलेर नेपाल आएका हुन् ।

    यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) फ्रेन्च शीर्ष टोली गुइग्याम्पबाट त्यहाँको लिग खेलिरहेकी छन् । उनी केही समयअघि मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी थिइन् र दुई खेल खेलिसकेकी छन् ।

    वाफ वुमन्स च्याम्पियनसिपमा पहिलो सहभागिता
    नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले तयारीको समय छोटो भएपनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै जित्ने लक्ष्य रहेको बताए ।

    नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेल्न लागेको छ । ८ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाल समूह बी मा छ ।

    यस समूहमा नेपालसँगै प्यालेस्टाइन, सिरीया र इराक छन् । नेपालले सिरियासँग फेब्रुअरी २० मा पहिलो खेल खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

    यस्तै नेपालले फेब्रुअरी २२ मा ईराक र फेब्रुअरी २४ मा प्यालेस्टाइनसँग खेल्नेछ ।

    आयोजक साउदी अरेबिया, ग्वाम, लेबानोन र जोर्डन समूह ए मा छन् ।

    नेपाली टोली
    गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना रानामगर, उषा नाथ

    रक्षक : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी

    मिडफिल्डर : अनिता केसी, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्रा भण्डारी

    फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, अमिसा कार्की ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार