तपाईं पुरुष भए ढुक्क हुनुहोस्, जतिऔं सन्तान भए पनि तपाईंलाई धर्तीमा स्वागत हुन्छ । नारी भए पहिल्यै बिदाइ गरिन सक्छ ।
यदि तपाईं दोस्रो वा कुनैकुनै अवस्थामा तेस्रो सन्तान पर्नुभयो भने, तपाईंलाई आफ्नो जीवन वा मृत्युको आभास हुनुअघि नै आमाकै गर्भमा तपाईं महिला हो कि पुरुष भन्ने निर्क्योल गरिन्छ । तपाईं पुरुष भए बाँच्न सक्नुहुन्छ, तर नारी भए कतिपय अवस्थामा तपाईंलाई संसारमा आउनुअघि नै बिदाइ गरिन्छ ।
पुरुष भए जुनसुकै क्रममा परे पनि ढुक्क हुनुहोस्, तपाईंलाई धर्तीमा स्वागत हुन्छ । यदि नारी हो भने तपाईंले आफू मात्र दुःख पाउनुहुन्न, जन्म दिने आमाले पनि हेपाइ खानुपर्छ । कति अवस्थामा त छोरा नजन्मिउन्जेल् थप सन्तान जन्माइराख्नुपर्छ ।
जन्मिसकेपछि तपाईंको शरीरमा जति अंग छन्, ती सबैमा तपाईंले परिवार र समाजको इज्जत बोकिदिनुपर्छ । ढुक्क हुनुहोस्, तपाईं पुरुष हो भने त्यो बोझ बोक्नु पर्दैन । छोरीका लागि न्वारन, पास्नी, गुन्योचोलोजस्ता संस्कारहरू छोरोका भन्दा फरक गरिन्छ । यसबाट ‘तपाईं आफ्नो भाइ वा दाइभन्दा अलग्गै हो है’ भन्ने मानसिकता विकास गरिन्छ । तपाईंको लवाइ, खुवाइ, पहिरन, व्यवहार सबै नियन्त्रित हुन्छन् । बिस्तारै हुर्कंदा थाहा हुन्छ, तपाईं पसलसमेत कोही साथमा नलिई जान सक्नुहुन्न । रातबिरात हिँड्नु खतरनाक हुन सक्छ । तपाईंको शरीर, शरीर नभएर कुनै खजानाजस्तो हो भन्ने बनाइन्छ जुन कसैले लुटिदिन सक्छ, आँखा लगाउन सक्छ । त्यसैले शरीर ढाक्नुपर्छ, कसैलाई छुन दिनु हुँदैन । छोएमा तपाईंको आफ्नो शरीरमाथिको अधिकारको हनन होइन, तपाईंको परिवार वा समाजको इज्जत जान्छ । तपाईंको शरीर ‘लुटिए’ तपाईंको भन्दा परिवार वा समाजको इज्जत लुटिन्छ । लुट्ने अरू कोही नभएर पुरुषै हुन्छ । किनभने, महिलामा लुट्ने सामर्थ्य हुँदैन, लुटिने अवस्था मात्र हुन्छ ।
हुर्कंदै गर्दा तपाईंलाई यो पनि अनुभव हुन्छ कि तपाईंको दाजुभाइ तपाईंभन्दा बढी महत्त्वपूर्ण हुन् । उनीहरूलाई किनिदिने महँगा लुगामा, उनीहरूलाई दिइने स्वतन्त्रतामा, उनीहरूले तपाईंलाई सुरक्षा गर्न सक्ने कुरामा, तपाईंलाई अर्काको घरमा जानुपर्ने कुरा सम्झाउँदा वा तपाईं आमालाई सघाइरहँदा दाइभाइ भने खेल्न जाँदा यस्ता कुराको बोध हुन्छ । तपाईंले पढ्ने किताबमा, हेर्ने चलचित्रमा, सुन्ने गीतमा, कथा सबैमा घरका काम आफ्नो जिम्मेवारी भनेर बुझ्न हुन्छ । तपाईंले कस्तो कपाल राख्ने, कस्तो लुगा लगाउने, कोसँग बोल्ने, कसरी बोल्ने, के खेल्ने, के नखेल्ने आदि पनि सूक्ष्म तरिकाबाट व्यवस्थित तरिकाले घर र अन्य सामजिक संस्थाहरूबाट निर्देशित र प्रशिक्षित हुन्छ ।
हो, कहिलेकाहीं नारीदेवीको स्वरूप मानेर नवरात्रिमा तपाईंको पूजा पनि गरिन्छ । तर रजस्वला भएपछि त्यो ठाउँ फेरि पाउनुहुन्न । रजस्वलासँगै तपाईं पर सर्नुहुन्छ । हरेक समय इज्जत बोक्ने भाँडो भैरहने योनी, रगत बग्दा इज्जतको बोझसँगै अछुत हुन्छ ।
यति मात्र होइन, तपाईंको कुनै घर हुँदैन, तपाईं कि बाउको घरमा कि लोग्नेकोमा बस्नुहुन्छ । थर–जात पनि कि तपाईंको बाउको हुन्छ कि लोग्नेको उपहार हुन्छ । तपाईंको देश पनि हुँदैन, किनकि तपाईं आफ्नो बलमा होइन कि बाउ वा लोग्नेका आधारमा मात्र नागरिकता पाउनुहुन्छ । नौ महिना पेटमा र नहुर्किंदासम्म हेरचाह गरे पनि तपाईं एक्लीले सन्तानको स्वामित्व लिन सहज हुन्न । तपाईंको सन्तान तबसम्म तपाईंजस्तै देशविहीन, जातविहीन र अनाथ हुन्छ जबसम्म उसको बाउले उसको अस्तित्व स्विकार्दैन ।
तपाईं सोच्नुहोला त्यो अरूले बनाएको नियममा नबसे के हुन्छ ? त्यस्तो गरेमा तपाईं समाजका नाममा कलंक बनाइनुहुन्छ । सामाजिक सञ्जालमा तपाईंको चरित्रहत्या हुन्छ । तपाईं सामाजिक बहिष्कारको सिकार हुन सक्नुहुन्छ ।
यही भएर, म आफैंलाई प्रश्न गर्छु— नारी हुनु भनेको के हो ?
(प्रज्ञा युनिभर्सिटी अफ सिड्नी)