मंगलबार, मंसिर ४ गते २०८१

राजनीतिक कथामा धमाधम बन्दैछन् फिल्म

राजनीतिक कथामा धमाधम बन्दैछन् फिल्म

अखबार दैनिक
मंगलबार, साउन २ २०८०
  • राजनीतिक कथामा धमाधम बन्दैछन् फिल्म

    काठमाडौं । घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको ‘छक्कापञ्जा ४’ को केन्द्रीय कथावस्तुमा यसपटक अरु मसला थिएन । समसामयिक राजनीतिका प्रवृत्तिलाई लिएर कथावस्तु बुनिएको थियो । राजनीतिमा परिवारवाद, दलीय गुट उपगुट, षड्यन्त्र र बदलाका किस्सामा यसको कथा बुनिएको थियो ।

    images

    लेखक समेत रहेका निर्माता दीपकराज गिरीले आफूले राजनीतिक कथावस्तु उठान गरेर जोखिम मोलेको बताएका थिए । समकालीन राजनीतिलाई कटाक्ष गरिएको यो फिल्म बक्स अफिसमा सफल पनि बन्यो । ‘छक्कापञ्जा’का अघिल्ला श्रृंखलामा समाज, वैदेशिक रोजगारीका प्रभाव, रोमान्स, शिक्षा र विकासका कथा समेटिएका हुन्थे ।

    तर चौथो श्रृंखला हेरेका दर्शकले राजनीतिक कथावस्तुमा छक्कापञ्जालाई हेरे । भलै, यो फिल्ममा गरिएजस्तो राजनीतिक चित्रणलाई लिएर दर्शकीय व्याख्या अलग-अलग हुन सक्छ । ‘मैले जोखिम लिएर यो सब्जेक्टमा कथा भनेको हुँ,’ गिरीले भनेका थिए ।

    आगामी कात्तिक २४ गते प्रदर्शनको तयारीमा रहेको निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को केन्द्रमा पनि राजनीति छ । राजनीतिक असरले कसरी नागरिकको दिमाग खराब भइरहेको छ भन्ने बटमलाइनमा बनिरहेको यो फिल्मले ‘पिपुल भर्सेस पावर’को कथा भन्छ ।

    फिल्मका पटकथा लेखकसमेत रहेका मनोज पण्डितले यो फिल्ममा सामान्य मानिसको नजरबाट कथा भनिने बताए । ‘दिमाग खराबले सबै नेपालको आजको मनोविज्ञानको प्रतिनिधित्व गर्छ किनभने आज नेपालीहरुको दिमाग खराब भइरहेको छ । यो समकालीन फिल्म हो,’ उनले भने, ‘यसको केन्द्रमा अहिलेको विकृत राजनीति छ ।’ निश्चलले यसअघि निर्देशन गरेको फिल्म ‘टलकजंग भर्सेस टुल्के’ले पनि तत्कालीन नेपाली राजनीतिको कुनै आयामलाई चित्रण गरेको थियो ।

    भदौ २९ गते प्रदर्शन गते प्रदर्शन तयारीमा रहेको दयाहाङ राई स्टारर फिल्म ‘नांगो गाउँ’को केन्द्रीय कथावस्तु पनि ग्रामीण समाजको राजनीतिक परिवेश र द्वन्द्वमा केन्द्रित छ । हालै सार्वजनिक भएको फिल्मको पोस्टरले यसबारे चित्रण गर्छ । कुनै गाउँको सेटिङमा झण्डा बोकेर हिंडेका राजनीतिक दलका कार्यकर्तालाई चित्रण गरिएको यो फिल्म राजनीति र चुनावी परिदृश्यमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

    भदौ १४ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को केन्द्रीय द्वन्द्व पनि राजनीति वरपर घुमेको छ । राजनीतिसँगै युवाका मुद्दालाई समेटिएको यो फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । समकालीन राजनीतिले युवामा पारेको असरको कथा यसमा समावेश छ । यसबीच, दीपक रौनियारले निर्देशन गर्न लागेको फिल्म ‘राजागञ्ज’मा पनि मधेशको ‘पहिचानवादी राजनीति’को कथावस्तु समावेश भएको अनुमान गर्न सकिन्छ ।

    पटकथा लेखक प्रदीप भारद्वाज दर्शकसँगै सिधै जोडिन र व्यवसायिक रुपमा पनि छलाङ मार्ने सोचसहित निर्माताले राजनीतिक कथावस्तुमा फिल्म बनाउन चाहेको हुन सक्ने बताउँछन् । ‘समसामयिक कथावस्तुमा फिल्म बनाउँदा दर्शकसँग सिधै जोडिन सजिलो हुन्छ । किनभने उनीहरुले तत्काल परिवेश पनि बाँचिरहेका हुन्छन्,’ उनले भने, ‘एकातिर बक्स अफिस र अर्कोतिर पब्लिक रिलेटको चाहना पनि मेकरमा हुन सक्छ ।’

    विगतमा राजनीतिक कथावस्तुका फिल्मले बक्स अफिसमा त्यति राम्रो कमाइ गरेको इतिहास छैन । तर पछिल्लो समय राजनीतिका प्रवृत्तिलाई केलाएर बनाइएका फिल्मले बक्स अफिसमा राम्रै कमाएको देख्न सकिन्छ । ‘छक्कापञ्जा’को चौथो श्रृंखला यसको पछिल्लो उदाहरण हो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार