आइतबार, जेठ ६ गते २०८१

यी हुन् विश्वका सबै भन्दा तीव्र गतिका १० रेल, नेपालको अवस्था ?

यी हुन् विश्वका सबै भन्दा तीव्र गतिका १० रेल, नेपालको अवस्था ?

अखबार दैनिक
सोमबार, असार ११ २०८०
  • यी हुन् विश्वका सबै भन्दा तीव्र गतिका १० रेल, नेपालको अवस्था ?

    काठमाडौं । नेपालमा जनकपुर–जयनगर चल्ने रेल सञ्चालमा आए पनि स्थापित हुन सकेको छैन । 

    images

    दैनिक दुईपल्ट यो रुटमा रेल चल्ने गरेको छ । केही दिनअघि मात्रै भारतको बथनाहाबाट विराटनगरसम्म पनि कार्गो रेल आएको छ । तर, यसको दीर्घकालीन सञ्चालनको विषय स्पष्ट छैन ।

    नेपालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग, सिगात्से–केरुङ–काठमाडौं रेलमार्ग र अन्य रेलमार्गदेखि काठमाडौं उपत्यकामा मनोरेलसम्मका विषयमा बेला बेला चर्चामा आउँछन् । 

    तर, पनि रेलमार्ग र रेलयात्राका विषय आजका दिनसम्म सपनामै जस्तै छन् भन्दा पनि हुन्छ । सयौं मानिसहरुलाई एकैपटक बोक्ने, एक सहरबाट अर्काे सहरमा सयौं किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने रेल यातायातको विकास विश्वमा भने आक्रामकरुपमा बढ्दै आएको छ । 

    हवाई यातायातको सबैभन्दा उत्कृष्ट विकल्प आजका दिनमा रेलमात्रै रहेको छ ।  सन् १९८० को दशकदेखि जापानको सिन्कानसेन र फ्रान्सको ट्रेन ए ग्रान्ड भिटेसे (टीजीभी)को नेतृत्वमा अहिले युरोप र एसियाभर उच्च गतिका रेल र रेलमार्ग विकास र विस्तारमा अर्बाैं डलर लगानी गरिएको छ ।

    जापानको सिन्कानसेन बुलेट ट्रेन र फ्रान्सेली टीजीभी हाई स्पिड ट्रेनले वर्षाैंसम्म आफ्नो तिव्र गतिको कृतिमानी कायम राखेको थियो । पछिल्लो दशकमा चीनले देशको हरेक कुनामा पुग्ने ३८ हजार किलोमिटरको रेलमार्ग विस्तार गरेको छ । 

    आजको मितिमा विश्वका प्रमुख तीन उच्च गतिका रेल चीनसँग छन् र चीन अझै एकहजार किलोमिटर प्रतिघण्टा रफ्तारको रेल विकास गर्नेतिर लागेको छ । अहिले स्वच्छ उर्जाबाट चल्ने तीव्र गतिका रेल निर्माण  तथा विकासको प्रतिस्पर्धा विश्वमा छ । 

    चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, फ्रान्स, अष्ट्रेलिया र स्पेनजस्ता देशले तीव्र गतिका रेलको विकास र रेलमार्गको विस्तारमा निरन्तर काम गरिरहेका छन् ।  विश्वमा अझै तीव्र गतिका रेल आउनसक्ने सम्भावनासहित अहिले सञ्चालनमा रहेका १० तीव्र गतिका रेल भने निम्न हुन् ।

    १. सांघाई म्याग्लेभ (चीन)

    Shanghai-Maglev-source-gt-11687751826 (1).jpeg

    विश्वको सबैभन्दा तीव्र गतिको रेल चीनको सांघाई म्याग्लेभ रेल हो । चुम्बकीय प्रविधिको प्रयोग गरेर घर्षणरहित रुपमा निर्माण गरिएको सांघाई म्याग्नेटिक लेभिएसन (म्याग्लेभ) यस प्रकारको विश्वकै पहिलो यात्रुबाहक रेल पनि हो ।

    सांघाईको पुडोङ एयरपोर्टलाई लोङ्याङ रोड स्टेशनसँग जोड्ने यो रेलको अधिकतम गति ४६० किलोमिटर प्रतिघण्टा छ । यसले ३० किलोमिटरको यात्रा साढे सात मिनेटमै पूरा गर्छ ।

    जर्मन टेक्नोलोजीमा आधारित म्याग्लेभ ट्रेन शक्तिशाली चुम्बकको प्रयोगमा उच्च गतिमा कुद्छन् । अहिले चीनले आफ्नै प्रविधि प्रयोग गरेर ६०० किलोमिटर प्रतिघण्टा क्षमताको म्याग्लेभ रेल विकास गरेको छ ।

    २. सीआरएच ३८० बी (चीन)

    CR Harmony CRH380B-21687751822.jpg

    चाइना रेलवे हाई स्पिड(सीआरएच) अन्तर्गत पनि उच्च गतिका रेलहरु रहेका छन् । 

    यसअन्तर्गतको सीआरएच ३८० बी रेल सांघाई, हांग्झोउ र सांघाई नान्जिङ रुटमा चल्छ । यो रेलको गति ३५० किलोमिटर प्रतिघण्टा रहेको छ ।

    यसअन्तर्गतकै सीआरएच ३८० ए रेलले सन् २०१० मा परिक्षणका क्रममा ४८६.१ किलोमिटर प्रतिघण्टाको गति दिएको थियो । यो रेलले अवैधमा रुपमा जापानको सिन्कानसेन प्रविधि प्रयोग गरेको भन्दै विवादास्पद भएको थियो ।


    ३. सीआर४०० फक्सिङ (चीन)

    cr400-fuxing-Chogo-Xinhua-31687751822.jpg

    चीनको सीआर४०० फक्सिङ रेल अर्काे तीव्र गतिको रेल हो । ३५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने यो रेलले परिक्षणका क्रममा ४२० किलोमिटर प्रतिघण्टाको गति दिएको थियो ।

    १६ कार जोडिएजत्तिकै लामो यो रेलले अधिकतम १२०० यात्रु बोक्न सक्छ ।  यो रेलका भेरियन्टहरू हाल बेइजिङ–साङ्घाई–हङकङ र बेइजिङ–हार्बिन रुटमा सञ्चालनमा छन् ।

    ४. आईसीई३ (जर्मनी)

    Germany's Inter-City Express-41687751823.jpg

    विश्वका प्रमुख तीव्र गतिका रेलमध्ये जर्मन इन्टरसिटी एक्सप्रेस (आईसीई) ब्रान्ड अन्तर्गतका रेल पनि पर्छन् । यीमध्येको आईसीई३ रेल सबैभन्दा उच्च ३३० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ ।  सन् १९९९ देखि सञ्चालनमा रहेको यो रेल परीक्षणका क्रममा ३६८ किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो ।

    विद्युतीय रेल आईसीई३ मा १६ वटा मोटर रहेका छन् जसले ११ हजार हर्सपावर उत्पन्न गर्छ ।  आईसीई३ रेल जर्मनीभरि र पेरिस, एम्स्टर्डम र ब्रसेल्ससँग प्रमुख जर्मन सहर जोड्ने अन्तर्राष्ट्रिय रेलमार्गमा पनि सञ्चालनमा छन् ।

    ५– टीजीभी रेल (फ्रान्स)

    France-TGV-trains-afp-51687751823.jpg

    फ्रान्सले लामो समय सबैभन्दा तीव्र गतिका परम्परागत रेलको कृतिमानी राखेको थियो । सन् २००७ को अप्रिल ३ मा फ्रान्सले ५७४.८ किलोमिटर प्रतिघण्टाको रेल परिक्षण गरेको थियो । फ्रान्सको ट्रेन ए ग्रान्ड भिटेसे (टीजीभी) प्रविधि हाई स्पिड रेलका लागि विश्वकै पायोनियर मानिन्छ ।

    फ्रान्सले दोस्रो विश्वयुद्ध यता निरन्तर रुपमा रेलको गति बढाउँदै लगेको थियो । सन् १९५५ मा पूरानो कृतिमानी तोड्दै ३३१ किलोमिटर प्रतिघण्टा, सन् १९८१ मा ३८० किलोमिटर प्रतिघण्टा र सन् १९९० मा ५१५.३ किलोमिटर प्रतिघण्टा क्षमताको रेल परिक्षण गरेको थियो ।

    हाल फ्रान्समा ३२० किलोमिटर प्रतिघण्टा क्षमताका रेल पेरिसदेखि लियोन, मार्सेली, बोर्डो, नान्टेस, स्ट्रासबर्ग, लिले, ब्रसेल्स र लन्डनस चल्ने गरेका छन् । तिव्र गतिको रेल निर्यातमा पनि फ्रान्स सफल छ । यसले टीजीभी प्रविधि स्पेन, दक्षिण कोरिया, ताइवान, मारेक्को, इटाली र अमेरिकालगायतका देशहरुलाई बेचेको छ ।

    ६. जेआर इस्ट ई५ (जापान)

    Japan-Shinkansen-trains-bloomberg-61687751824.jpg

    जापानले सबैभन्दा पहिले सन् १९६४ मा तीव्र गतिका रेलको अवधारणा ल्याएको थियो र अहिले पनि यसले विश्वको नेतृत्व गरिरहेको छ । जापानले यसको सिकान्से अथवा बुलेट ट्रेनबाट तीव्र गति, यात्रु बोक्नसक्ने क्षमता र सुरक्षालाई नयाँ उचाईमा पुर्याएको थियो ।

    जापानका धेरै जसो सिकान्से रेल अहिले पनि अधिकतम ३०० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छन् ।  तर, जापान रेलवे इस्ट (जेआर ईस्ट)को ई५ बुलेट रेल भने ३२० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर टोकियो देखि शिन–आमोरी सम्म कुद्छ ।

    ७३१ सिट रहेका यी प्रत्येक रेलमा ३२ वटा विद्युतीय मोटर जडित छन्, जसले १२ हजार ९०० हर्सपावर उत्पन्न गर्छ । सुरुङभित्र तीव्र गतिमा चलिरहेका बेला यो रेलको अगाडि भाग ठूलो आवाज ननिकाल्ने गरी बनाइएको छ । सन् २०११ देखि यस्ता ५९ वटा रेलहरु सञ्चालनमा रहेछन् ।


    ७. अल बोराक (मोरक्को)

    Morocco's-Al Boraq-universal-image-editoria-71687751825.jpg

    अफ्रिकाको पहिलो र एकमात्र तीव्र गतिको रेल मोरक्कोमा सन् २०१८ को नोभेम्बरमा सञ्चलानमा आएको थियो । यो रेलले मोरक्कोको बन्दरगाह सहर तांग्यिरलाई कासाब्लांकासँग जोड्छ ।

    फ्रान्सेली टीजीभी प्रविधिमै बनेको यो विद्युतीय रेलले ३२० किलोमिटर प्रतिघण्टाको गति लिन्छ ।

    अल बोराक रेलले परिक्षणका क्रममा सन् २०१७ मा ३५७ किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो । इस्लामिक धर्मका प्रोफेटहरुलाई बोक्ने पौराणिक प्राणीका नामबाट यो रेलको नाम अल बोराक राखिएको हो ।

    ८. एभीई एस–१०३ (स्पेन)

    Spain-tgv-moment-editorial-81687751828.jpg

    फ्रान्सकै टीजीभी प्रविधि प्रयोग गर्दै स्पेन सन् १९९२ मा तिव्र गतिको रेल भएका मुलुकको सूचीमा जोडिएको थियो । त्यसयता स्पेनले आफ्नै सुपरफास्ट रेलको विकास गरेको छ भने विभिनन सहर जोड्ने युरोपकै लामो रेल नेटर्वक विस्तार गरेको छ ।
    अल्टा भेलोसिड्याड ईस्पाना(एभीई) स्पेनको तिव्र गतिको रेल ३१० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्छ । स्पेनको एस–१०२ टाल्गो र एस–१०३ भेलारो थप शक्तिशाली रेल हुन् ।

    ३५० किलोमिटर प्रघिण्टाका गतिसम्म प्रमाणीत, ४०४ सिटको एस–१०३ रेलले स्पेनका दुई ठूला सहरलाई जोड्छ । सन् २००६ मा यो रेलले ४०४ किलोमिटर प्रतिघण्टाको गतिसहित त्यतिबेला विश्व कृतिमानी कायम गरेको थियो ।

    स्पेनका सुपरफास्ट ट्रेनहरू म्याड्रिडदेखि सेभिल, मालागा, भ्यालेन्सिया, ग्यालिसिया र बार्सिलोनासम्म चल्छन् ।

    ९. केटीएक्स (दक्षिण कोरिया)

    South -Korea-KTX-afp-91687751828 (1).jpg

    सन् २००४ देखि दक्षिण कोरियाले यसको तिव्र गतिको रेल नेटवर्कको व्यापक विकास र विस्तार गरेको छ ।

    सन् २००४ मा दक्षिण कोरियाले सियोलदेखि बुसान रुटमा केटीएक्स रेल सञ्चालनमा ल्याएको थियो । ३०५ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने यो रेलले अधिकतम ३३० किलोमिटरको गति दिनसक्छ ।

    फ्रान्सको टीजीभी प्रविधिमा आधारित यो रेलले सियोलदेखि बुसानको यात्रा चार घण्टाबाट २ घण्टा १५ मिनेटमा झारेको थियो । दक्षिण कोरिया, फ्रान्स, जापान र चीनसँग विश्वमा ४२० किलोमिटर प्रतिघण्टा भन्दा तिव्र गतिको रेलको विकास गर्ने मुलुक हो ।

    नयाँ पुस्ताको एचईएमयु–४३० एक्स प्रोटोटाइपले सन् २०१३ मा ४२१.४ किलोमिटर प्रतिघण्टाको गति देखाएको थियो ।

    १०.ट्रेन इटालिया ईटीआर१००० (इटाली)

    trainitalia-Frecciarossa-getty-image-101687751829 (1).jpg

    इटालीले सन् २०१७ मा नयाँ तिव्र गतिको रेल सञ्चालनमा ल्याएको थियो । फ्रेसिएरोसा (रेड एरो) हाई स्पिड ट्रेन इटाली सरकारले प्राइभेट प्रतिस्पर्धीको प्रतिक्रियामा ल्याएको थियो ।

    अधिकतम ४०० किलोमिटर गतिसम्म दिनसक्ने किसिमले विकास गरिएको यो विद्युतीय रेलमा १० हजार हर्सपावर क्षमता छ ।

    ३६० किलोमिटर प्रतिघण्टाका लागि मात्रै अनुमति प्राप्त यो रेलले परिक्षणका क्रममा सन् २०१६ मा ३९४ किलोमिटर प्रतिघण्टाको गति देखाएको थियो ।

    २०० मिटर लामो रेलमा ४५७ सिट छन् । यी रेलहरुलाई ३०० किलोमिटर प्रतिघण्टाको गतिमा मात्रै सञ्चालन गरिएको छ । यी रेलह इटालीको उत्तरमा टुरिन, मिलान, भेनिस, बोलोग्ना, फ्लोरेन्स, रोम र नेपल्स सहरमा सञ्चालित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार