इजरायली पूर्वराजदूत हानान गोदारले गाजामा मारिएका नेपाली विद्यार्थी विपिन जोशीलाई ‘ऊर्जावान र क्षमतावान’ युवा भन्दै याद गरेका छन्।सामाजिक सञ्जालमा सोमबार विपिनसँगको भेटको तस्बिर साझा गर्दै गोदारले ‘दुई वर्षको आशा आज अन्त्य भयो’ भनेका छन्। उनले थप लेखेका छन्, ‘उनी ऊर्जावान र क्षमतावान युवा विद्यार्थी थिए जो आफ्नो परिवार, समुदाय र देशका लागि राम्रो गर्न चाहन्थे।’ गोदारले विपिनको शान्तिको कामना गर्दै उनलाई सधैँ सम्झिरहने बताए।
दुई वर्ष पहिले भएको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए। तर त्यसबेला देखि नै बेपत्ता विपिनको मृत्यु सोमबार मात्रै पुष्टि भएको थियो। यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरायली सञ्चारमाध्यमले उनी जीवित भएको आशंका गरेका थिए।
तर सोमबार २० जना जीवित र चार जना मृतक बन्धक रिहा भएसँगै उनी जीवित नरहेको पुष्टि भएको थियो। हमासले मंगलबार उनको शव हस्तान्तरण गरेको छ। अब डिएनए परीक्षणपछि शव नेपाल पठाउने तयारी छ।