गाजासिटी । इजरायलले पक्राउ गरेका एक हजार ७१६ जना प्यालेस्टिनीहरू सोमबार गाजाको नासेर अस्पतालमा रिहा हुने भएका छन् । उक्त अभियानसँग संलग्न एक अधिकारीले रोयटर्सलाई बताएअनुसार इजरायली जेलमा आजीवन कारावास काटिरहेका २५० जना प्यालेस्टिनीहरूलाई सोमबार वेस्ट बैंक, जेरुसेलम र विदेशमा रिहा गरिने अपेक्षा गरिएको छ।
यसबीच, हमासको सैनिक शाखा इज्जुद्दिन अल–कस्साम ब्रिगेडले भने सोमबार बिहान पहिलो सातजना इजरायली बन्धक मुक्त गरिँदै गर्दा आफ्नो भनाइ सार्वजनिक गरेको छ । ‘इजरायल सैन्य दबाबमार्फत बन्धकहरू फिर्ता ल्याउने प्रयासमा असफल भएको छ’, उसले भनेको छ, ’अहिले उसले आत्मसमर्पण गरेको हो।’
हमासले थप आफूहरू सम्झौता र त्यससँग सम्बन्धित तालिकाहरूको पालनामा प्रतिबद्ध रहेको जनाएको छ । कब्जाधारी (इजरायल) ले सहमति पालना गर्ने नगर्ने कुराको पनि आफूहरूले निगरानी गर्ने उसले जनाएको छ।