पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरिरहेका एक फ्रेन्च पत्रकारको मृत्यु भएको छ । एएफपीका लागि कार्यरत ३२ वर्षीय अरमान सोल्डिनलाई मंगलबार बाखमुटको पश्चिममा रहेको चासिभ यारमा प्रहार गरिएको रकेटले लागेको थियो ।
युक्रेनको सेनाहरूसँग रहेका पत्रकारहरूको टोलीमाथि स्थानीय समयअनुसार साढे चार बजे आक्रमण भएको थियो ।
फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँले युद्धग्रस्त क्षेत्रको फ्रन्टलाइनमा काम गरेको सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । एएफपीका अध्यक्ष फ्याबरिस फ्राइसले आफ्नो समाचार एजेन्सी सोल्डिनको निधनबाट स्तब्ध भएको बताएका छन् ।
उनले यो घटना युक्रेनको युद्धलाई रिपोर्टिङ गरिरहेका पत्रकारहरूले सामना गर्ने चुनौती र जोखिमको उदाहरण भएको बताए ।
कमिटी अफ प्रोटेक्ट जर्नालिस्टका अनुसार सोल्डिन सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युक्रेन युद्धको रिपोर्टिङका क्रममा मारिने १५ औँ पत्रकार हुन् । यसअघि अन्य दुई जना फ्रेन्च पत्रकार युक्रेनमा मारिएका थिए । केही महिनादेखि बाखमुट पूर्वी युक्रेनमा जारी युद्धको ‘एपिसेन्टर’ बनेको छ ।
बीबीसी