शुक्रबार, वैशाख २१ गते २०८१

स्थानीयवासी भन्छन्ः त्रासै त्रासमा बाँचिरहेका छौँ

स्थानीयवासी भन्छन्ः त्रासै त्रासमा बाँचिरहेका छौँ

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • स्थानीयवासी भन्छन्ः त्रासै त्रासमा बाँचिरहेका छौँ

    हेटौंडा : मकवानपुरको हेटौंडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुंगा खानीका कारण राक्सिराङ् गाउँपालिकास्थित सीमान्तकृत चेपाङ समुदाय जोखिममा परेका छन्। 

    images

    उद्योगको राक्सिराङ्-४ स्थित खानीले गिङ्गुङ क्षेत्रमा चुनढुंगा उत्खनन सुरु गरेसँगै त्यहाँ बसोवास गर्दै आएका ९ घर चेपाङ समुदाय जोखिममा परेका हुन्। बस्तीलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण नगरी खानीले चुनढुंगा उत्खननको कार्यलाई निरन्तरता दिँदा स्थानीयवासी त्रासमा बाँचिरहेका छन्। उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरी तत्काल पुनर्वासको मागसमेत गरेका छन्। 

    ‘हामी डराइडराइ बाँचिरहेका छौँ, घरमा बालकदेखि वृद्धसम्म छन्। घरमाथि खानीबाट पाँगो माटो बगेर आउँछ, घर पुर्नै लागिसक्यो। दिउँसो भए त भाग्न सकिन्थ्यो, रातिको समयमा पहिरो आयो भने हाम्रो परिवार नै बाँच्दैनौँ,’ स्थानीय सानुमाया चेपाङले भनिन्।  गहभरी आँसु बनाउँदै उनले खानीबाट बगेर आएको माटोले बारीमा लगाएको मकै, कोदो, फापरलगायतका खेतिपाती पुर्ने गरेको समेत सुनाइन्। 

    ‘बरु घरजग्गा बेचेरै हामी अन्तै बसाई सर्छौँ भन्दा पनि चलनचल्तीको मूल्यमा जग्गा खरिद गर्न खानीका सरहरू मान्नुहुन्न। सित्तैमा, सस्तो दिनेभए किन्छौँ भन्नुहुन्छ। हाम्रो सम्पत्तिको मूल्य उहाँहरू राख्नुहुन्छ। त्यहीँ बसेर गरिखाने अवस्था पनि छैन, अन्त जान ठाउँ पनि छैन,’ चेपाङ्ले दुखेसो गरिन्।

    त्यस्तै स्थानीय दिलबहादुर चेपाङ खानीका कारण बारीमा खेतिपाती गरेर परिवार पाल्ने अवस्था नरहेको बताउँछन्। ‘धुलोधुँवा मात्रै होइन, पाँगो हिलो माटो सबै बगेर जग्गामा आउँछ। हिउँदमा त यस्तो छ, अब बर्खाको समयमा त झन ठूलो पहिरो आउने डर छ। मैले परिवार र जग्गाको संरक्षण कसरी गर्ने ? कि त न्याय चाहियो, कि जग्गा किनेर हामीलाई अन्यत्र सारियोस्,’ उनले भने। 

    Untitled-1_n8IQPl1qXj.jpg

    सो क्षेत्रमा हाल ९ घर चेपाङ परिवारको बसोवास छ। उनीहरूको कूल १०३ रोपनी जग्गा छ। बाँकी केही घर परिवार जग्गाजमिन त्यसै छाडेर विस्थापित भएका छन्। 

    चेपाङ समुदायको साझा संस्था नेपाल चेपाङ संघले खानी प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिदिनु भन्दै रिद्धिसिद्धि सिमेन्ट उद्योगसमक्ष पटक पटक पहल गरेको भए पनि उद्योगले बेवास्ता गर्दै आएको चेपाङ संघ राक्सिराङ-४ का अध्यक्ष जितन चेपाङले बताए। 

    उनले आफूहरूलाई विचौलियाहरूले डर धम्की देखाउने गरेको दुखेसो गरे। खानी क्षेत्रमा अस्थायी प्रहरी चौकी राखिएको भए पनि प्रहरी प्रशासनले उद्योग र ठूला मान्छेको मात्रै कुरा मान्ने गरेको उनको भनाइ छ। 

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्लावासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन प्रतिवद्ध रहेको बताए। 'यसबारे मलाई विस्तृतमा जानकारी छैन। मिडियाबाट झट्ट सुनेको चाही हो। पहिला विस्तृतमा जानकारी लिन्छौँ अनि कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्छौं, उनले भने। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार