शुक्रबार, वैशाख २१ गते २०८१

मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

अखबार दैनिक
मंगलबार, असार १२ २०८०
  • मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

    १२ असार, दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् ।

    images

    गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्‍यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर सात बोरा मललाई ६३ ठाउँमा भाग लगाएर बाँडिचुडी गरे ।

    ‘पटकपटक धाउँदा पनि भनेजति मल आएन,’ कृषक आशाराम चौधरी भन्छन्, ‘सबैलाई नपुग्ने भएपछि सात बोरा मललाई ६३ ठाउँमा भाग लगायौं ।’

    उनी भन्छन्, ‘त्यसरी बाँड्दा एक जनालाई पाँच केजी जति भाग पर्याे । त्यो मल एक छेउ पनि लागेन ।’

    वडाध्यक्ष खोपीराम चौधरीका अनुसार गत शुक्रबार १४ गाउँका किसानलाई मल बाँड्दा एउटा गाउँलाई ७/७ बोरामात्र भाग परेको थियो । ‘अभाव भएका कारण धेरै मल आएनछ,’ उनले भने, ‘मल पर्याप्त नपाएपछि थोरै-थोरै भए पनि बाँड्नु पर्ने अवस्था आयो ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार ८ सांसदहरुका प्रश्नको जवाफ दिनेक्रममा यस वर्ष विगतको जस्तो मल अभाव नहुने बताएका थिए । तर राजपुरका किसानले त्रिपाल ओछ्याएर रासायनिक मल भाग लगाएको तस्वीर प्रधानमन्त्रीलाई नै गिज्याउने खालको थियो । उक्त फोटोले कृषिप्रधान देशका किसानहरुको दुःख देखाइरहेको थियो ।

    वडा अध्यक्ष चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्विर दुःखी तुल्याउने खालको भएको बताए । ‘रोपाइँ सुरु भइसक्दा पनि किसानले मल नपाउनु दुःखको कुरा हो,’ उनले भने ।

    सामाजिक सञ्जालमा मल अभावको फोटो सार्वजनिक भएपछि थप एक सय बोरा जति मल सहकारीमा आइपुगेको बताए ।

    उनले थप मल ल्याउन पहल गरिरहेको बताए । तर जिल्लामा अभाव भएकाले किसानले मागेजति मल उपलब्ध गराउन नसकेको बताए ।

    दाङ लगायतका जिल्लामा हरेक वर्ष मल अभाव हुँदै आएको छ । विगतको जस्तै यस वर्ष पनि असार सुरु भइसक्दा पनि किसानले मल पाएका छैनन् ।

    जिल्लामा कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पाेरेसनले ३० प्रतिशतका दरले रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने गरेका छन् ।

    कृषि सामग्री कम्पनी शाखा कार्यालय घोराहीका शाखा प्रबन्धक टोपाराम गौतमले भने यो वर्ष विगतको जस्तो मलको अभाव नहुने जिकीर गरे । जिल्लाको मागको आधारमा करिब आधा मल आइसकेको र मल आउने क्रम जारी भएकाले अभाव हुने अवस्था नरहेको गौतमको भनाइ छ ।

    उनका अनुसार घोराही र बंगलाचुली क्षेत्रमा ४ हजार मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी मलको माग छ । तीमध्ये २ हजार २४५ मेट्रिक टन युरिया र १ हजार १६१.०५ मेट्रिक टन मल आइसकेको बताए ।

    अहिलेसम्म १९०३४.९०० मेट्रिक टन युरिया र १०८१.५०० मेट्रिक टन डिएपी मल बिक्री गरेको उनले बताए । उनले रासायनिक मल सहकारीबाट समान रूपमा किसानलाई वितरण गर्नुपर्ने भए पनि पहुँचवालाले नियन्त्रण गर्दा सबै किसानसम्म मल पुगेन कि भन्ने आशंका उत्पन्न भएको सुनाए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार