शनिबार, वैशाख २२ गते २०८१

साख फर्काउने दाउमा धरान

साख फर्काउने दाउमा धरान

सरकारी नेतृत्व पटकपटक चीन भ्रमणमा गए पनि अर्बौँ रुपैयाँको कारोबार हुने खुकुरी उद्योगबारे एक शब्द नबोल्दा यी उद्योग बन्द हुने अवस्थामा

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • साख फर्काउने दाउमा धरान

    सुनसरी — कुनै बेला धरानमा ९३ वटा राइस मिल, बिस्कुट, सोडा वाटर, साबुन, स्विटर बुन्ने र धातुका भाँडाकुँडा बनाउने उद्योग थिए । पूर्वका १४ जिल्लाको प्रशासनिक र व्यापारिक केन्द्र बनेको धरान यतिबेला शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदको सहर भनेर नामै सीमित छ ।

    images

    २०३५ देखि २०४० अघि पूर्वका १४ जिल्लाको प्रशासनिक केन्द्रसमेत बनेको धरानको व्यापारिक गतिविधि पछिल्लो ४० वर्षयता सुस्ताउँदै गएको छ । धरान हुँदै जाने मध्य पहाडी र मदन भण्डारी राजमार्गले ०४० सालअघिको रौनक ब्युँतिनेमा स्थानीय व्यवसायी आशावादी छन् । कोसी एवं मेची राजमार्ग विस्तारसँगै छायामा परेको धरानको पहिचान पुनर्जीवित गरेर व्यापारीहरू पलायन हुनबाट रोक्न अन्य प्रयास पनि जारी छन् ।

    ठूला र चौडा सडकले तराईलाई सिधै पहाडसँग जोडेपछि संगमस्थलमा रहेको गुल्जार धरानको आर्थिक गतिविधि एकाएक सुनसान जस्तै बनेको अधिकांश व्यवसायीको बुझाइ छ । सडक विस्तारले नै सुनसान बनेको धरानलाई फेरि सडक विस्तारले नै आर्थिक गतिविधि मौलाउने आशा पनि गरिन थालिएको छ । ‘धरानको व्यावसायिक इतिहास करिब १४० वर्ष पुरानो छ । यो नेपालको आधुनिक आर्थिक इतिहासको सन्दर्भमा पुरानो पहिचानका रूपमा लिन सकिन्छ,’ आर्थिक विश्लेषक कृष्ण अग्रवालले भने, ‘किनकि धरानमात्र यस्तो सहर हो जहाँ हिमाली भेगको जिल्ला ताप्लेजुङबाट आधा शताब्दी अघि बसाइँ सरेर आएका कैयौं मारवाडी बस्छन् ।’

    अग्रवाल संघीय र प्रदेश सरकारले बनाउने बजेटका सल्लाहकारसमेत रहँदै आएका छन् । उनका अनुसार कोसी राजमार्ग, मेची राजमार्ग र कटारी–ओखलढुंगा सडक (सिद्धिचरण मार्ग) विस्तार हुनुभन्दा अघि धरान पूर्वको तराई–पहाड जोड्ने व्यापारिक केन्द्रको रूपमा स्थापित थियो । ‘पूर्वी पहाडका कृषि उत्पादन, फलफूल, तरकारी, जडिबुटी धरान हुँदै भारतका व्यापारीले लैजान्थे । पहाडकाले यहीबाट नुन, तेल, चामल, मट्टीतेल, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री लैजाने गरेका थिए,’ अग्रवालले भने, ‘जब कोसी, मेची र सिद्धिचरण मार्ग बन्यो धरानमा आर्थिक र व्यापारिक गतिविधि सुस्तायो ।’

     

    उनका अनुसार यसपछि यहाका कैयौं कारोबारी विराटनगर, सुनसरी मोरङ करिडोर र काठमाडौं सरे । धरान छाड्न नसक्नेहरू भने एक दिन पालो आउला भनेर अहिलेसम्म बसिरहेको अग्रवालले आशा जगाए । आधा दर्जन क्षेत्रीयस्तरका सरकारी कार्यालय र आधा दर्जन अञ्चल र जिल्ला स्तरका सरकारी कार्यालय पनि यसैबीच रातारात अन्यत्र सारिए । त्यसपछि करिब–करिब ‘स्याल कराउने झाडी’ जस्तै बनेका बेला २०३१ मा धरान औद्योगिक क्षेत्र, २०४८ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र २०५३ मा कृषि उपज बजार स्थापनाले केही राहत भने दिएको अग्रवालले बताए ।

    उनका अनुसार धरानमा २०५० सम्म ब्रिटिस घोपा क्याम्प हुँदा पूर्वका लाहुरेहरू पेन्सन थाप्न धरान आउँथे । त्यही पेन्सनको पैंसाले सामान किनेर पहाड लैजान्थे । क्याम्प पनि उठेर पोखरा पुग्यो । ‘तर धरानको आर्थिक गतिविधिलाई दीर्घकालसम्म चलायमान बनाउन व्यावसायिक रणनीति भने बनाउने नेतृत्व नै कोही भएन,’ अग्रवालले भने ।

    नेता उत्पादन र नेतृत्वमा झापा र मोरङले जितेपछि धरान झन् थचारिएको अग्रवालको बुझाइ छ । ‘कुनै पनि सहरको आर्थिक गतिविधि चलायमान हुनुमा राजनीतिक नेतृत्वको घरपायक जिल्ला वा गृहनगर हुनुले अर्थ राख्छ,’ उनले भने, ‘२०१७ मै नगरपञ्चायत बनेको धरानलाई पछिल्लो समयमा इटहरी, दमक, बिर्तामोड, गाइघाट र लाहानले उछिनेको छ । यी नयाँ सहर उदाएको डेढ दशक पनि भएको छैन ।’

    सुस्ताएको धरानलाई प्रतिष्ठान, कृषि उपज बजार र धरान औद्योगिक क्षेत्रले आर्थिक कारोबारको २० प्रतिशत थेगेकाले मात्र चित्त बुझाउने ठाउँ रहेको अग्रवालले बताए । उनले भने, ‘व्यापारीलाई टिकाइराख्ने, रोजगारी दिलाउने र धरानको पुरानो साख धरमरै भए नि कायम राख्ने माध्यम यी तीनवटा मात्र हो । तब कसरी धरानको आर्थिक गतिविधि चलायनमान हुन्छ ?’ तर यहाँ सम्भावना भने अरू सहरको तुलनामा अधिक रहेको आर्थिक जानकारहरूको भनाइ छ ।

    राष्ट्रिय र प्रादेशिकभन्दा बढी प्रतिव्यक्ति आम्दानी हुनेहरू बस्ने धरान नै हो । १ हजार ३ सय ९० अमेरिकी डलर वार्षिक प्रतिव्यक्ति आम्दानी गर्नेहरू बस्ने सहर हो धरान । ८४ प्रतिशत साक्षर, वैदेशिक रोजगारीबाट उच्च विप्रेषण आप्रवाह, लगानीभन्दा निक्षेपमा बढी केन्द्रित बासिन्दा रहेको धरानलाई गुल्जार बनाउन र लगानी भित्र्याउन सकिने केही उपाय रहेको उनीहरूको भनाइ छ ।

    उद्योग वाणिज्य संघ सुनसरीले धरान रंगशालामा १० दिने धरान एक्स्पो आयोजना गरिरहेको सन्दर्भसँग जोडेर धरानको पुरानो आर्थिक गतिविधिको ओज फर्काउन सकिनेमा यहाँका उद्योगी, व्यवसायी विश्वस्त छन् । उनीहरूका अनुसार धरान औद्योगिक क्षेत्रसँगै रहेको करिब २० बिघा जग्गा यतिबेला खाली छ । पहिले त्यहाँ रेडियो नेपालको सानो शाखा कार्यालय थियो । त्यस्तै धरान–६ पानबारीमा औद्योगिक ग्रामको २५ बिघा जग्गाको डीपीआर भइसकेको छ । औद्योगिक प्रदर्शनी र बिक्री वितरणका लागि भनेर सरकारले धरानमा योजना पारेको छ । त्यसका लागि करिब पाँच बिघा जग्गाको खोजी भइरहेको छ । यी औद्योगिक क्षेत्र सानाठूला गरी कम्तीमा एक सय वटा उद्योग स्थापना गरेर सञ्चालनमा ल्याउन सके हजारौंले रोजगारी पाउने र उत्पादित सामान अन्यत्र बेच्न सकिने उपाय जानकारहरूले सुझाएका छन् ।

    रेमिट्यान्समा विद्यावारिधि गरेका सहप्राध्यापक राजेन्द्र शर्माले धरानका बासिन्दा पाँच किलो चिनी किन्न ४५ किलोमिटर दूरीको जोगवनी बजार जाने अवस्थामा पुगेकाले पुरानो गौरव फर्काएर धरानलाई फेरि चलायमान बनाउन दीर्घकालीन योजना बनाउनु जरुरी रहेको बताए । उनले भने, ‘धरान एक्स्पोलाई १० दिने ‘इन्टरटेन्मेन्ट’ का रूपमा मात्र नलिएर स्थानीय उत्पादन र विदेशी उपभोग्य सामानलाई एकसाथ ‘एक्स्पोज’ गराउनुपर्छ ।’

    कृषिजन्य उत्पादन, फलफूल तरकारीका लागि धरान व्यापारिक केन्द्र बनेको छ । आव २०७८/७९ मा आँप ८ हजार ४ सय ७९ मेट्रिक टन, सुन्तला ६ हजार ६ सय ५४ मेट्रिक टन, खरबुजा २ हजार ७ सय ५९ मेट्रिक टन, नास्पाती ३ हजार ६० मेट्रिक टन, स्याउ २ हजार ४ सय १३ मेट्रिक टन, जुनार २ हजार २ सय ६९ मेट्रिक टन कारोबार भएको धरानस्थित कृषि उपज बजार व्यबस्थापन समितिको तथ्यांक छ ।

    व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार वार्षिक साढे पाँच अर्ब रुपैयाँको कारोबार हुने गरेको अवस्थामा अझै व्यवस्थित रूपमा लेबलिङ, ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ गर्नुपर्छ । कृषिजन्य फलफूल तरकारी र जडिबुटी जन्य उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन सके धरानको पुरानो आर्थिक रूपमा चलायमान गतिविधिलाई फर्काउन सकिने उनको भनाइ छ । ८७ हजार ९ सय ९० मेट्रिक टन त तरकारीमात्र धरानको कृषि बजारमा बिक्री हुन्छ । यसमा ३ अर्बको तरकारी भुटान, भारत र बंगलादेशमा निर्यात हुन्छ । यो तथ्यांक बैंकिङ च्यानल प्रयोग नगरी भएका कारोबार भएको आर्थिक विश्लेषक कृष्ण अग्रवालको भनाइ छ ।

    त्यसो त धरानमा सानाठूला गरेर पाँच दर्जन बढी खुकुरी उद्योग छन् । चीन, क्यानडा, ब्रुनाई, अमेरिका निर्यात हुने ती खुकुरी उद्योगलाई सरकारले प्रशासनिक सहयोग नगर्दा यतिबेला बन्द हुने अवस्थामा छन् । धरानमा करोडौं लगानीमा स्थापित यस्ता उद्योगबाट उत्पादित खुकुरी सबैभन्दा बढी चिनियाँ बजारमा निर्यात हुने गरेको थियो । सरकारी नेतृत्व पटकपटक चीन भ्रमणमा गए पनि अर्बौं रुपैयाँको कारोबार हुने खुकुरी उद्योगबारे एक शब्द नबोल्दा यी उद्योग बन्द हुने अवस्थामा पुगेको व्यवसायीले बताउँदै आएका छन् ।

    उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठ र धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले लामो समयदेखि सुस्ताएको धरानको आर्थिक गतिविधिलाई गति दिन धरान एक्स्पो आयोजना गरेको बताए । अध्यक्ष विजयले भने, ‘धेरै पक्षबाट धरान पछि परेको छ । आर्थिक गतिविधि नै सुस्त भएपछि त्यसको असर अरूतिर पनि पर्दो रहेछ ।’ उनका अनुसार यस पटक धरान बाहिरबाट एक्स्पोमा आएका कारोबारीलाई धरानमा आफ्नो उत्पादन बिक्री वितरण गर्न र स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन र बजारीकरण गरेर भविष्यको बाटो तय गर्न सकिने मार्ग प्रशस्त गर्ने जमर्को छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार