सोमबार, वैशाख २४ गते २०८१

माग्न आउने सबै दुःखी हुँदैनन्

माग्न आउने सबै दुःखी हुँदैनन्

‘हजुर गरिबलाई केही दान गर्नुहोस्, धर्म मिल्छ । म दुःखीको कोही पनि छैन, धेरै भयो खान नपाएको, बुढी मरेर गई, छोराले घरबाट निकालिदियो ।’

अखबार दैनिक
बिहीबार , फागुन १८ २०७९
  • माग्न आउने सबै दुःखी हुँदैनन्

    दमकको व्यस्त बस स्टेसनमा गाडी आउने-जाने क्रम चलिरहेको छ । एकजना व्यक्ति हातमा केही लेखिएको लेमिनेसन गरेको कापीको पाना बोकेर भर्खरै रोकिएको एउटा बसमा चढ्छन् र विलौना गर्न थाल्छन् ।

    images

    बसमा यात्रीहरू ओर्लने र चढ्ने क्रम जारी छ । केही मनकारीहरू पाँच, दश र बीसका नोट हातमा राखिदिन्छन् । हात पसार्दै उनी हाम्रो नजिक आए । मैले उनको अनुहार नियालें । हृष्टपुष्ट हातखुट्टा, जिङ्रिङ्ग परेको कपाल, मैला र झुत्रा लुगा, रक्सी खाएर गन्हाएको मुख, गन्हाएकै शरीर, राता-राता आँखा ।

    मलाई खपिनसक्नु भयो । मैले भनें- यिनलाई हामी सबै मिलेर सडक मान्छे बनाइरहेका छौं । सबै मिलेर चन्दा संकलन गरेर रक्सी खान प्रोत्साहन गरिरहेका छौं । यिनमा के कमी छ र हामीले पैसा दिनुपर्ने ? यी तन्दुरुस्त छन्, हातखुट्टा दह्रा छन्, आँखा देख्छन् ।

    हुन पनि हामीकहाँ माग्नेलाई दिनुपर्छ भन्ने चलन स्थापित भइसक्यो । धर्म मान्नेले धर्म कमाइन्छ भनेर नमान्नेले पनि दिउँ न त भनेर पैसा दिन्छन् । हामीले हाम्रा बालबच्चालाई पनि गरिब-दुःखीलाई दिनुपर्छ भनेर सिकाइरहेका छौं ।

    मसँगै बसिरहेको मेरो छोरो पनि प्वाक्क बोल्यो, ‘ममी हामी पनि माग्नेलाई पैसा दिउँ न ! हजुरले माग्नेलाई दिनुपर्छ भन्नुभएको थियो नि होइन ?’ मैले सम्झाउँदै भनें- ‘बाबु यी ठग हुन् । यस्तालाई दिनुहुँदैन ।’

    मैले यत्ति के भनेकी थिएँ, मेरै छेउमा बसेकी २५/३० वर्षकी अधबैंसे महिला बोलिन्, ‘हेर बाबु जसले काम गर्न सक्दैन, जसका हातखुट्टा छैनन्, जसले आँखा देख्दैन, जसलाई कहिल्यै निको नहुने रोग लागेको छ, जसको शरीरमा घाउ छ त्यस्ता व्यक्तिलाई पैसा दिंदा मात्रै धर्म हुन्छ ।’

    उनले थपिन्, ‘हेर यिनको सब ठिक छ । यिनी काम गर्न सक्छन् । कमाएर खान सक्नेलाई यसरी पैसा दिनुहुन्न । हामीले दिएको पैसाले यिनलाई जँड्याहा बनाएको छ ।’

    गौरादहको एउटा होटलमा बसेर म र मेरो श्रीमान् चिया पिइरहेका थियौं । एउटा मान्छे आयो र हात मिलाउँदै सोध्यो, ‘के छ खबर सञ्चै हुनुहुन्छ ?’ छेउमा बस्दै होटलवालासँग एक कप चिया मलाई पनि है भन्न भ्यायो । समसामयिक विषयमा कुरा निकाल्यो । म सुनिरहेकी थिएँ ।

    चिया आयो, उसले एउटा खुकुरी चुरोट पनि माग्यो । गफसँगै चिया पियो, चुरोट उडायो । त्यति नै बेला उसको फोन आयो, एकछिन है भन्दै फोनमा बोल्दै बाहिर निस्किएको कता हरायो, कता !

    नजिकै बसेका एक मित्र यो सब देखिरहेका रहेछन् । हाम्रो नजिक आएर भने ‘आज तपाईं बन्नुभयो यसको मुर्गा । यो सबै होटलमा दिनमा एक पटक पस्छ र यसरी नै चिया खाजा खाइरहेका मानिसहरूलाई गफमा बेच्छ र आˆनो पेट भरेर बाहिर निस्कन्छ । चिन्ने मान्छे यसलाई देखे भने तर्कन्छन् । यो दिनदिनै ठग बन्दैछ ।’ हामीले बिल तिर्‍यौं र बाहिर निस्कियौं । मैले बाहिर यताउति नजर डुलाएँ । त्यो कतै देखिएन ।

    कात्तिक महिना भर्खरै तिहार सकिएको थियो । छठ नजिक आउँदै गरेको भए पनि हामी छठ नमनाउने भएकोले खासै रौनक थिएन । दिउँसोतिर लगभग १३-१४ वर्षकी जस्तो लाग्ने एक विवाहित महिला हातमा बटुको बोकेर आँगनहुँदै हामी भएकोतिर आइन् ।

    उनी सानो स्वरले बोलिन्, छठ पूजाको लागि केही दिनुहोस् । आमाले पाँच रुपैयाँ बटुकामा हालिदिनुभयो । तिनी गइन् । तुरुन्तै अन्दाजी बीस-बाइस वर्षकी जस्तो देखिने महिला उस्तै भेषमा एउटा बच्चा काखी च्यापेर, अर्को डोर्‍याउँदै अघिकी महिला जसरी नै आइन् र उसरी नै मागिन् । यसपटक यिनले एक बटुको चामल पाइन् ।

    ती महिलाले आफ्ना छोराछोरीको लागि भात मागिन् र आफूसहित खाएर गइन् । केहीबेर पछाडि त्यस्तै रूपकी अर्की महिला छठ पूजाको लागि चन्दा भन्दै आइन् । मलाई असहृय भयो । मैले भनें, ‘आमा यिनीहरू छठ पूजाको लागि चन्दा संकलन गर्न आएका होइनन् । यी सब ठग हुन् हूल बनाएर छठको बहानामा मागिखान हिंडेका ।’

    मैले थपें, ‘हेर्नुस् त सब काम गर्न सक्ने छन् । यिनीहरूलाई चामल र पैसा होइन बरु काम लगाउनुपर्छ र पारिश्रमिक दिएर पठाउनुपर्छ । हामीले नबुझी दिएको चामल र पैसाले यिनीहरू दिनदिनै अल्छी बन्दैछन् । हामीले नै यिनीहरूलाई सडक मान्छे बनाइरहेका छौं ।’

    मंसिरको दिन धान काट्नको चटारो, हामी केही जना घर नजिकैको खेतमा धान काटिरहेका थियौं । माइकिङको आवाज आयो । मिर्गाैला फेल भएकी मेरी श्रीमतीको उपचारको लागि सहयोग गरिदिनुहोस् । तपाईंको सानो सहयोगले उनले नयाँ जीवन पाउन सक्छिन् । एउटा सिटी सफारीमा स्पिकर बजिरहेको थियो ।

    सिटी हाम्रो घरको छेउमा रोकियो । दुई जना हृष्टपुष्ट मान्छेहरू हाम्रो घरतिर हातमा केही कागज बोकेर लागे । घरमा कोही नदेखेर उनीहरू हामी भएको तिर आए । खेतमै बसेर मैले कागज हेरें । नगरपालिकाको छाप लगाएको कागज र मानिसले दिइएको रकम लेखिएको एउटा कापी बोकेका रहेछन् । नाम लेखाएर बीस, पचास, सय, दुई सय गर्दै एकैदिनमा करिब बीस हजार रकम उठाइएको रहेछ ।

    उनीहरूले जुन नगरपालिकाको छाप लगाइएको पेपर बोकेका थिए, त्यही नगरपालिकामा बस्ने मेरो दाजु त्यति नै बेला आइपुग्नुभयो । तपाईंको गाउँका मान्छे रहेछन्, यो पेपर हेर्नुहोस् त दाइ के यो सत्य हो ? भनेर मैले सोधें । दाइले केही बोल्नै नपाई तिनीहरू त्यहाँबाट भागे । यदि उनीहरू गलत थिएनन् भने डराउनुपर्ने थिएन । त्यसको मतलब उनीहरू ठगी गरिरहेका थिए । समातिने डरले उनीहरू भागे ।

    गाउँघर, समाजमा देखिने यस्ता प्रतिनिधि उदाहरणले के देखाउँछन् भने समाजमा माग्ने नाममा ठगी बढिरहेको छ । यस्ता कैयौं ठग्ने विचार र योजना बुनेर मानिस सडकमा भौंतारिरहेको छ । उनीहरूको न खानको टुङ्गो छ, न वासको चिन्ता, न त इज्जतको डर छ । दान गरेर पुण्य कमाउने लोभमा हामी कस्तो मान्छे हो बुझ्दै नबुझी पैसा दिएर समाजमा ठगहरू बढाइरहेका छौं । कामै नगरी पैसा कमाउने उपायलाई प्रवर्द्धन गरिरहेका छौं ।

    कस्तो मान्छेले हात थापिरहेको छ बुझ्नुको सट्टा अरूले दिएको ठाउँमा आफूले नदिंदा लोभी भइने, अरूले दिएजति आफूले दिन नसक्दा इज्जत जाने, ऊभन्दा म के कम भन्ने प्रतिस्पर्धाले जो पायो त्यहीलाई पैसा र खाने कुरा दिइरहेका छौं ।

    मेरो विचारमा यस्तालाई पैसा होइन, काम दिनुपर्छ । फकाईफुल्याई काम गर्ने प्रोत्साहन गर्नुपर्छ । बरु उसले गर्न सक्ने थोरै काम लगाएर धेरै पैसा दिएर कामप्रति मोह बसाउन सकिन्छ । एक दिनभरि माग्दा उसले पाँच सय कमाउँछ भने आधा दिन काम गर तिमीलाई पाँच सय र खान दिन्छु भनेर काम लगायो भने थोरै समयमा धेरै कमाउने लोभले ऊ काम गर्न थाल्छ ।

    विस्तारै उसमा कामप्रति मोह जाग्न थाल्छ । आˆनो कमाइमा आत्मगौरवको अनुभूति गर्न थाल्छ । माग्नु भन्दा काम गर्नु उपयुक्त रहेछ भन्ने बुझ्न थाल्छ । त्यसैले हामीले प्रोत्साहनका यस्ता कार्यक्रम ल्याउन सक्छौं । यस्ता समस्याको समाधान गर्न गाउँ, नगर, प्रदेश र संघ सबैले प्रयत्न गर्नुपर्छ ।

    गाउँमा आउने व्यक्ति कस्तो खालको हो त्यसको हेक्का सबैले राख्नुपर्छ । सानातिना एक-दुई प्रश्न सोधेर त्यसको सत्यता पत्ता लगाउन सकिन्छ । झुटो व्यक्तिलाई गाउँमा पस्नै दिनुहुँदैन । शहर बजारमा देखिने सडक मान्छेको वास्तविकता पहिचान गर्नुपर्छ । जसले हात थाप्छ तुरुन्तै उसको हात भरिदिने होइन सत्यताको खोजी गर्नुपर्छ ।

    समाजमा रहेका सामाजिक संघ-संस्थाहरूले आˆनो ठाउँमा रहेका मागिखाने, अल्छी, जँड्याहाहरूलाई भेला पारेर पुनर्ताजकी कक्षा सञ्चालन गरेर कामको महत्व बुझाएर कामप्रति मोह बढाउन सक्छन् । गाउँ र नगरपालिकाले तिनीहरूले बोक्ने झुटा कागज अनुगमन गरी कसरी छापहरूको दुरुपयोग भइरहेको छ पत्ता लगाएर आˆनो कार्यालयको छाप र लेटरप्याडहरूको दुरुपयोग गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गरी यस्ता काममा निरुत्साहित गर्न सक्छन् ।

    त्यस्तै सडकमा बस्ने व्यक्तिहरूलाई बस्ने ठाउँको व्यवस्था गरी विभिन्न कामको तालिम दिने र रोजगारीको व्यवस्था गर्नुपर्छ । समाजमा रहेका सामाजिक संघ-संस्थालाई प्रोत्साहन गरी यस्ता सडक मान्छेहरूलाई नयाँ जीवन प्रदान गर्ने कार्यमा हौस्याउनुपर्छ । राज्य, प्रदेश, गाउँ, नगर, समाज र व्यक्ति सबै मिलेर प्रयत्न गर्ने हो भने पक्कै पनि बाटो बिराएका दाजुभाइ, दिदीबहिनीलाई सही बाटोमा ल्याउन सकिन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ