शनिबार, जेठ ५ गते २०८१

थप बिजुली निर्यातको बाटो खोज्दै नेपाल

थप बिजुली निर्यातको बाटो खोज्दै नेपाल

अखबार दैनिक
शुक्रबार, फागुन ५ २०७९
  • थप बिजुली निर्यातको बाटो खोज्दै नेपाल

    ५ फागुन, काठमाडौं नेपाल र भारतको ऊर्जा सचिवस्तरीय बैठक आज शुक्रबारदेखि भारतको राजस्थानमा सुरु हुँदैछ । पहिलो दिन सहससचिव स्तरको संयुक्त कार्यसमूहको बैठक बस्ने छ भने भोलि शनिबार १०औं ऊर्जा सचिवस्तरीय बैठकमा ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठक बस्ने छ ।

    images

    बैठकमा नेपालको नेतृत्व ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गर्दैछन् भने भारतका तर्फबाट भारतका ऊर्जा सचिव श्री आलोक कुमारले गर्नेछन् ।

    बैठकमा नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८०० मेगावाटसम्म विद्युत आदानप्रदानको सहमति गर्न प्रस्ताव गर्नेछ । हाल ६०० मेगावटसम्म मात्रै विद्युत आयात निर्यात गर्ने गरी यो लाइन चलाइएको छ ।

    नेपालले भारतसँग दीर्घकालीन विद्युत खरिद सम्झौता गर्न पनि नेपालले प्रस्ताव गर्नेछ । बैठकमा बंगलादेशमा विद्युत निर्यातको बाटो खुला गर्न पनि भारलाई अनुरोध गरिने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।


    नेपाल र बंगलादेशले ५० मेगावाट विद्युत बंगलादेश निर्यात थाल्ने सहमति गरेअनुसार आफ्ना दुई पक्षीय बैठकमा भारतलाई प्रसारणलाइन प्रयोगको अनुमति दिन आग्रह गर्दै आएका छन् ।

    बैठकमा आगामी वर्षायाममा थप बिजुली भारत निर्यात गर्ने वातावरण तयार गर्न भारत सरकारसँग आग्रह गरिने ऊर्जा मन्त्रालयले जनाएको छ । हालसम्म भारतले ४५० मेगावाट मात्रै बिजुली निर्यातको अनुमति दिएको छ । थप ६ सय मेगावाट विद्युत निर्यातको बाटो खोलिदिन आग्रह गर्ने नेपालको तयारी छ ।

    बिहारसँग जोडिएका विभिन्न १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत निर्यातको बाटो खोलिन नेपालले प्रस्ताव गर्नेछ । टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइन स्तरोन्नति गर्ने विषय पनि बैठकमा उठ्ने छ । भैरहवा (मैनहिया)–न्यू नौतन्वा र कोहलपुर–नानपुरा १३२ केभी प्रसारण लाइन निर्माणका विषयमा पनि दुबै पक्षले छलफल गर्नेछन् ।

    थप अन्तरदेशीय प्रसारण लाइनहरु बनाउने योजनामाथि पनि छलफल हुनेछ । बैठकमा नयाँ बनाउन प्रस्ताव गरिएका इनरुवा–पूर्णिया (न्यू) र दोदोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रारुपबारे पनि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार