बिहीबार , मंसिर ६ गते २०८१

गृहमन्त्री रवि, थप गल्ती नगर

गृहमन्त्री रवि, थप गल्ती नगर

अखबार दैनिक
मंगलबार, माघ ३ २०७९
  • गृहमन्त्री रवि, थप गल्ती नगर

    प्रिय रवि, सर्वप्रथम त तिमीलाई धेरै धेरै बधाइ तथा शुभकामना ! जनताको मनका साथै जनमत पनि प्राप्त गरेकोमा। जनताको निराशाको अवस्थामा समेत एउटा आशा–किरणको रूपमा रहेका तिमी सत्ताको बागडोर सम्हाल्न सफल भएकोमा। हिजो प्रश्न गर्न आतुर भएको मान्छे आज स्वयं उत्तर दिने ठाउँमा पुगेकोमा। जनताको अपार मायाको सम्बोधन गर्ने क्रममा राज्य सत्तामा आफ्नो पहुँच नभएको भनी गुनासो गरेको तिमीले जनताले तिमीलाई सत्ता सुम्पिदिएकोमा धेरै धेरै बधाइ।

    images

    रवि लामिछाने अर्थात् जनताको आशाको दियो ! जति देशका दल तथा नेताप्रति वितृष्णा बढ्दै गयो, तिमीप्रति उम्मीद बढ्दै गयो। सञ्चारकर्मीका रूपमा तिम्रा ती तिखा तथा चर्को प्रश्नले सकिन लागिसकेको इच्छा पनि पुनरावृत्ति भएको थियो। जनमानसमा छाएको कालो बादलबीच नयाँ रोशनीको घेरा देखा परेको थियो। सबैलाई प्रश्न गर्ने तिमी आज आफैं प्रश्नको घेरामा उभिन पुगेका छौ।

    पहिलो गाँसमा ढुंगा झैं भएको छ तिम्रो पनि सत्तारोहण। हिजो जसलाई ‘नो नट अगेन’ भन्यौ, आज उसैलाई समर्थन गरी सत्तारोहण गर्‍यौ। हिजोसम्म एकअर्काप्रति विषवमन गर्ने प्रचण्ड र केपी ओली आझ मिल्दा कसैले विरोधको एउटा स्वर पनि निकालेनन्। त्यसको कारण तिमी नै हौ। किनभने तिमीले त सत्ताको लागि सम्झौता गर्‍यौ भने अरुको त त्यो नियति नै बनिसकेको थियो। तिम्रो कामको सुरुवात पनि पुराना दलको झैं देखिएको छ।

    जसरी सँगै एउटै संसदमा भएको दोषी ठहरिएको सभासदलाई सरकारले सधैं फरार सूचीमा राखी कहिल्यै फेला पार्न सकेन त्यसैगरी सँगै विश्वासको मत दिएकोलाई तिमी (गृहमन्त्री) ले समेत देख्न सकेनौ। बरु उल्टै गृहमन्त्रीले गोजीमा हत्कडी बोकेर हिंड्छ र ! भन्ने जस्तो ओठेजवाज दियौ। कसैसँग केही फाइदा लिनु छैन भनेको केही समयमै सत्ताको लागि आँखा चिम्लिदियौ।


    खैर केही छैन। केही पाउन केही गुमाउनु नै पर्छ। दिगो शान्ति तथा विकास पाउन यी सानातिना गल्तीमा माफै दिउँला। यतिका वर्षसम्म त सहियो भने केही समय अझै सहूँला। तिम्रो यो परीक्षाको घडीको रूपमा स्वीकार गरौंला। लामो समयको अव्यवस्थित स्थिति सम्हाल्न केही समय पक्कै लाग्ला। आशालाई विश्वासमा परिणत हुन समय त लागिहाल्छ। तिम्रा गतिविधिको सूक्ष्म निगरानी गरिरहूँला। जनताको कहिल्यै आँखा बन्द हुँदैन। प्रतिक्रिया मात्र ढिलो–चाँडो हुने कुरा तिमीलाई राम्रोसँग नै थाहा छ। यसको ज्वलन्त उदाहरण तिमी आफैं नै हौ।

    जनताको साथले आज तिमी यो देशको गृहमन्त्री जस्तो पदमा आसीन हुन पुगेका छौ। आज आफूले केही गर्न चाहे पनि गर्न नसक्ने अवस्थामा छु भन्ने छुट तिमीले अब पाउने छैनौ। देशको गृह प्रशासनको बागडोर तिम्रो हातमा छ। तिम्रो हातमा अनुशासन तथा शान्ति कायम गर्ने निकाय छ। सत्ताको दुरुपयोग रोक्ने शक्ति छ। जनतालाई सधैं भ्रममा पारी आफ्नो दुनो सोझ्याउनेबाट मुक्त गराउने अधिकार र जिम्मेवारी छ तिमीसँग।

    अनुशासन र मितव्ययीको उदाहरण तिमीबाट सुरु गर्नुपर्छ। जनताले सधैं खेप्दै आएको दुःख कम गर्नुपर्छ। तिमी अन्य शासक झैं होइनौ भन्ने तिमीले प्रमाणित गर्नुपर्छ। तिमीले यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नुहुँदैन। कुनै पनि भीआईपीको नाममा सडक खाली गरिनुहुँदैन। सर्वसाधारणले घण्टौं जाममा बस्नुपर्ने अवस्था अन्त्य गरिनुपर्दछ।

    बोलेर पाउने जिम्मेवारी तिमीले पाइसक्यौ। यो उचाइमा टिकिरहन र नयाँ उचाइ चुम्न अब तिमीले काम गर्नुपर्छ। केवल काम। तब मात्र तिमी जनताको रवि हुनेछौ। अन्यथा हिजो आफैंले सत्ता पक्षलाई गरेको खबरदारीले तिमीलाई गिज्याउनेछ। संसारलाई त केही भनेर जवाफ दिनेछौ तर आफैंलाई जवाफ दिन मुस्किल हुनेछ। तिमीले पनि जनता सरह नै गृहमन्त्रीकै रूपमा जाममा पर्खिन सक्नुपर्छ। कुनै सवारीको नाममा सर्वसाधारणलाई विभेद गरिनुहुँदैन। अनि मात्र तिमी जनताका रवि हुनेछौ।

    सार्वजनिक यातायातको अवस्था बयान गरिसक्नु छैन। देशभरि नै सुधार गर्न समय पक्कै लाग्ला तर तिम्रो प्रत्यक्ष निगरानीमा रहने उपत्यकाबाट सुरुवात गर्न सकिन्छ। कालो सिसा उघारी हेर्‍यौ भने छर्लङ्ग देख्न सक्नेछौ जसलाई सत्ता र कमिसनको सिसाले धमिल्याउन सकेन भने।

    श्वास फुकी–फुकी मापसे जाँच गर्न सक्ने ट्राफिकले बसभरि खाँदेर सवारी चलाएको कहिल्यै देख्न सकेन। २० मिनेटको यात्रा एक घण्टा लगाउँदा समेत मौन बसिदिन्छ। दूरदराजबाट उपचारका लागि आएको जनताको सार्वजनिक यातायातको अस्तव्यस्तताले समस्या झन् बढाउने कार्य मात्र गरिरहेको छ। उपत्यका छिर्नु अघि सय चोटि सोच्न बाध्य तुल्याउँछ। यो सुधार गर्यौ भने पक्का तिमी जनताको रवि होऊ।

    जनताको दुःख नीति निर्माताको कानमा त पुग्छ मनमा पुग्दैन। जनताको दुःख माथिल्लो तहको मनमा पुर्‍याउने काम जनताले तिमीलाई दिएका छन्। आफ्नो निजी सवारीमा एसीको मजा लिंदै हिंड्नेलाई तातो घाममा गुन्द्रुक खाँदिए झैं बसमा खाँदिनुको पीडा थाहा नै हुन्न। निर्णय गर्ने अधिकार तिम्रो हो। निर्णय तिमीले गर्नुपर्छ। उच्च पदस्थ कर्मचारी तथा मन्त्रीले एक महिनाको लागि मात्र भए पनि दैनिक कार्यको लागि निजी तथा सरकारी सवारी प्रयोग नगरी सार्वजनिक यातायात मात्र प्रयोग गर्ने निर्णय गरी कडाइका साथ लागू गरे अर्को महिनामा सार्वजनिक यातायातमा सुधार हुनेछ। सार्वजनिक यातायात सवारी हुनुपर्दछ पीडा थप्ने साधन होइन।

    नीतिनिर्माण तथा कार्यान्वयन तहका सबै निकायमा मात्र एक महिनाको लागि अनिवार्य रूपमा सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने निर्णय लागू भएमा समस्या सुधार हुन कुनै समय लाग्दैन। नत्र नीति बने पनि कार्यान्वयन कागजमै सीमित रहनेछ।

    बोलेर पाउने जिम्मेवारी तिमीले पाइसक्यौ। यो उचाइमा टिकिरहन र नयाँ उचाइ चुम्न अब तिमीले काम गर्नुपर्छ। केवल काम। तब मात्र तिमी जनताको रवि हुनेछौ। अन्यथा हिजो आफैंले सत्ता पक्षलाई गरेको खबरदारीले तिमीलाई गिज्याउनेछ। संसारलाई त केही भनेर जवाफ दिनेछौ तर आफैंलाई जवाफ दिन मुस्किल हुनेछ।

    हजारौं माइलको यात्रा पनि एक पाइलाबाटै सुरु हुने हो। स्थायित्व चिरकालसम्म रहन ठूला कुरा होइन, सानो सानो कामबाट सुरु गर्नुपर्छ। स्विट्जरल्याण्ड र सिंगापुरको सपना हामीले अरुबाट पाइसकेका छौं। हामीलाई समृद्ध नेपाल चाहिएको छ। हामीले तिमीलाई जनमत दिएका छौं। तिमीबाट आश गरेका छौं। तिम्रो सफलता जनताको सफलता हो। हामीलाई हार्ने बानी परिसकेको छ। तिमी असफल भयौ भने हामी त सहज स्वीकार गरौंला, तर नयाँ आशामाथि तुषारापात हुनेछ।

    तिम्रो इमानदारी नै नयाँ बिहानीको सुरुवात हुनेछ। तिम्रो व्यवहार नै नयाँ दिशा हुनेछ। तिम्रो कार्यकालले जनताको समेत निर्णयको परीक्षा हुनेछ। युवा तथा नयाँ नेतृत्वको भविष्य यहीं निर्धारण हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ