बिहीबार , असोज ३ गते २०८१

विद्युतिय गाडी चार्ज गर्न २० वटा स्टेसन संचालनमा: कुन-कुन जिल्लामा पुग्यो सुविधा‍, कति लाग्छ शुल्क ?

विद्युतिय गाडी चार्ज गर्न २० वटा स्टेसन संचालनमा: कुन-कुन जिल्लामा पुग्यो सुविधा‍, कति लाग्छ शुल्क ?

अखबार दैनिक
सोमबार, पुस २५ २०७९
  • विद्युतिय गाडी चार्ज गर्न २० वटा स्टेसन संचालनमा: कुन-कुन जिल्लामा पुग्यो सुविधा‍, कति लाग्छ शुल्क ?

    नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जिङका लागि निर्मित २० वटा स्टेसन संचालनमा ल्याएको छ। देश विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि संचालनमा आएको हो।

    images

    प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन संचालनमा आएको छ। मुग्लिनमा सीसीएस, चितवनको पारस बसपार्कमा सीसीएस र जीबीटी, काठमाडौं उपत्यकाको साझा यातायात सेवा, बल्खुमा जीबीटी र सीसीएस, नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा सीसीएस स्टेसन संचालनमा आएको छ।

    यसैगरि, साझा पुल्चोकमा जीबीटी, नेपाल पुलिस क्लबमा सीसीएस, सिन्धुलीको खुर्कोटमा दुईवटा जीबीटी, सिन्धुली बसपार्कमा जीबीटी, इलाका प्रहरी कार्यालय बर्दिबासमा जीबीटी र सीसीएस, सर्लाहीमा हरिवनमा जीबीटी र सीसीएस, कास्कीमा कालिका फ्युल (एपीएफ) मा दुईवटा र टुरिष्ट बसपार्क पोखरामा गरि २० वटा चार्जिङ स्टेसन संचालनमा आएका छन्। जीबीटीमा ठूला सवारी साधन चार्ज हुन्छ भने सीसीएसमा 'प्यासेन्जर भेहिकल'को चार्जिङ सुविधा हुन्छ।

    यस्तै, सुनसरीको इनरुवा बसपार्कमा जीबीटी, सिरहाको लहान प्रहरी पम्पमा जीबीटी र सीसीएस गरि तीनवटा चार्जिङ स्टेसन निर्माण सम्पन्न भएर परीक्षणको काम चलिरहेको छ। आयोजना प्रमुख सागर ज्ञवालीले परीक्षणमा रहेका चार्जिङ स्टेसन छिट्टै संचालनमा ल्याउने बताए।

    प्राधिकरणले देशका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीलाई दिएको थियो। सम्झौता अनुसार एक वर्षमा तयार पारिसक्नुपर्ने चार्जिङ स्टेसन गत असारमा नै पुरा हुनुपर्थ्यो। विभिन्न प्राविधिक कारण देखाउँदै निर्माण कार्य ढिला हुँदै आएको छ।

    ठेक्का पाएको चिनियाँ कम्पनीले अर्को कम्पनी मार्फत चार्जिङ स्टेसनका लागि चाहिने ट्रान्सफर्मर ल्याउने जिम्मा दिएको थियो। सो कम्पनीले ल्याएको सबै ट्रान्सफर्मर परीक्षण फेल भए। तोकिएको मापदण्डभन्दा कमजोर क्षमताको भन्दै सो ट्रान्सफर्मरहरु प्राधिकरणको ल्याबबाट फर्काइदिँदा पनि केहि समय लाग्यो।

    थप ढिला नहोस् भनेर प्राधिकरणले तत्कालका लागि आफ्नै ट्रान्सफर्मरबाट काम चलाउने र उसले ल्याएपछि परिवर्तनको निर्णय गर्‍यो। प्राधिकरणका ट्रान्सफर्मर राखेर अहिले २० वटा चार्जिङ स्टेसन संचालनमा ल्याइएको हो। चार्जिङ स्टेसनका लागि चाहिने केही सामानहरु युरोपबाट ल्याउनु परेका कारण पनि ढिला भएको बताइएको छ।

    आयोजना प्रमुख ज्ञवालीले दुई महिनामा सबै चार्जिङ स्टेसन संचालनमा ल्याइसक्ने दाबी गरे। उनका अनुसार चार्जिङ स्टेसनका लागि चाहिने सबै खालका उपकरणहरु आइपुगेका छन्। अधिकांश स्थानमा निर्माणको काम चलिरहेको छ। केही स्थानमा जग्गा र रुख कटानको समस्या छ। सो समस्या समाधान गरेर दुई महिनामा सबै चार्जिङ स्टेसन सर्वसाधरणका लागि खुला गर्ने तयारी भएको उनले बताए।

    एसियाली विकास बैकको ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा यी चार्जिङ स्टेसनहरु निर्माण भइरहेका हुन्। निर्माणको जिम्मा पाएको कम्पनीले चार्जिङ स्टेसनका लागि चाहिने उपकरणहरु ल्याउने, परीक्षण गर्ने र संचालन गरेर देखाउनुपर्नेछ। चार्जिङ स्टेसनहरुको पाँच वर्षसम्म मर्मत सम्भारको काम गर्नुपर्नेछ।

    प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको हुनेछ। नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्म फुल चार्ज गर्न सकिनेछ।

    कति लाग्छ शुल्क ?
    प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने शुल्क समेत तोकिसकेको छ।जसअनुसार चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा ,माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ। समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ। मझौला भोल्टेज (३३ केभी) को पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.४० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ४.४५ रुपैयाँ, अन्य (बिहान ५ देखि साँझ ५ बजेसम्म) ६.६० रुपैयाँ प्रतिकिलोवाट घण्टा (युनिट) पर्छ।

    मझौला भोल्टेज (११ केभी) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.६० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.७० रुपैयाँ युनिट पर्छ।

    तल्लो भोल्टेज (२३०/४०० भोल्ट) मा पिक (साँझ ५ देखि राति ११ बजेसम्म) ८.७० रुपैयाँ, अफ पिक राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ५.०५ रुपैयाँ, अन्य (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) ६.९० रुपैयाँ युनिट पर्छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ