ढल्केवर–जनकपुर राजमार्गबाट करिब एक किलोमिटिर पश्चिम, धनुषाको मिथिला नगरपालिका वडा नम्बर १, बसही खोला किनारमा ३ वर्षअघि बसेको एउटा बस्ती छ।
केही भूमिहीन र विपन्न परिवारहरूको यो बस्तीमा फुसको छानो भएका ४० वटा घर छन्। नगरपालिकाले बसाएको यो बस्तीको नाम ‘नयाँ टोल’ रह्यो। टोलका सबै जसो परिवार ज्याला मजदुरी गरेर जीवन चलाउँछन्। ठूला मान्छे काममा जान्छन्। घरमा बालबालिका मात्रै हुन्छन्।
बस्तीको सामुन्ने खोलाको बगरमा झन्डै एक दर्जन ठूल्ठूला खाल्डा छन्, पोखरी खनेर यसै छाडेको जस्तो। पोखरी भने होइनन्। यी खाल्डा क्रसर व्यवसायी र निर्माण ठेकेदारहरूले ग्राभेल अर्थात् मसिना ढुंगा निकाल्दा बनाएका हुन्।
यी खाल्डाका कारणले बस्तीको भविष्य नै जोखिममा परेको छ। यहाँका बालबालिकाहरू दिनभरि खोलाको बगरका तिनै खाल्डा वरिपरि उफ्रिन्छन्, लुकामारी खेल्छन्। वर्षातमा पानी जमेका बेला पौडी पनि खेल्छन्। वर्षायाममा मधेसमा यस्ता खाल्डामा डुबेर बालबालिकाको ज्यान जाने घटनाहरू हुन्छन्।
२ वर्षअघि २२ वर्ष उमेरका एक युवक नै बिते। ठकेदारले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर वडा नम्बर २, नक्टाझिजका युवकको ज्यान गएको थियो।
मधेसमा यस्ता खाल्डामा बालबालिका डुबेर मरेको घटनाले नयाँ टोलका बासिन्दा ज्ञानी महरालाई झस्काउँछ। उनीहरू श्रीमान्–श्रीमती नै दिनभर मजदुरी गर्न जान्छन्। घरमा बालबच्चा रेखदेख गर्ने कोही हुँदैन, दिनभर खोलाकिनारतिर खेल्छन्, उफ्रिन्छन्।
‘ग्राभेल निकाल्न ठेकेदारले २० फिटभन्दा गहिरा खाल्डा खनेका छन्। यस्ता खाल्डा धेरै छन्। वर्षामा पोखरी जस्ता हुन्छन्,’ उनी भन्छन्, ‘ग्राभेल धेरै पाइने ठाउँमा धेरै गहिरो खन्छन्। यी खाल्डामा केटाकेटी डुब्छन्।’
उनकाअनुसार सुख्खा हुँदा पनि बालबालिका खाल्डामा परे भने निस्किन निकै कठिन हुन्छ। उनको प्रश्न छ, ‘हामी गरिब मान्छे दिउँसो मजदुरी गर्न जाने कि बालबच्चा हेरेर घरमा बस्ने?’ यस्ता ठूला खाल्डा सबै जसो घरबाट ३०–३५ मिटरको दूरीमा छन्।
स्थानीय बासिन्दाहरूका अनुसार एक दशक अघिसम्म बसही खोलाको चौडाइ यति धेरै फैलिएको थिएन। खोलाबाट बालुवा र ग्राभेल जथाभावी उत्खनन गर्न थालेपछि खोलो गहिरिँदै गयो।
गहिरिएको भागतिर बाढीले च्याप्दै लग्यो। खेत कटान हुन थाल्यो। किसानहरू डराउन थालेपछि क्रसर व्यवसायी र ठेकेदारहरूले सस्तोमा धेरै बिघा खेत किने।
खोला किनारको जमिन आफ्नै भएपछि उनीहरूले आफूखुसी उत्खनन् गरेर बालुवा र ग्राभेल निकाले। यही क्रममा ठूल्ठूला खाल्डा बनाए। अहिले तिनै खाल्डाले नयाँ टोलका बासिन्दाको चिन्ता बढाएको छ।
‘मनपरी खोला खन्ने ठेकेदारले कट्ठाको एक लाखका दरले कयौँ बिघा खेत किने। त्यही खेतमा २०–२५ फिट गहिरो खनेर ग्राभेल निकाले,’ वडा नम्बर एकका बासिन्दा विन्देश्वर महतोले भने, ‘जति गहिरो खने पनि कारबाही गर्ने कोही भएन।’
करिब १० वर्षअघि माटो खन्ने क्रममा एउटा खाल्डोमा पुरिएर ३ जना स्थानीयको मृत्यु भएको थियो। भुक्तभोगीहरूका अनुसार खाल्डोमा खसेर केही चौपाया पनि मरे। त्यसपछि उत्खननको चर्को विरोध भयो। केही दिन उत्खनन रोकियो पनि।
वातावरण शान्त हुँदै गएपछि पोखरी खन्न लागेको भनेर स्थानीयलाई झुक्याउँदै ठेकेदारहरूले उत्खनन् गरे। डेढ वर्षअघि स्थानीय एक विद्यालयको जग्गाबाट पनि ठेकेदारले ग्राभेल निकालेका थिए।
वडा नम्बर १ कै बासिन्दा रामचन्द्र महराका अनुसार विरोध सुरु भएपछि ठेकेदारहरूले स्कुलको जग्गा छाडे। उनकाअनुसार नगरपालिकाले ठूला उपकरण प्रयोग गरेर बसही खोलामा उत्खनन् गर्न रोक लगाएको छ तर ग्राभेल र बालुवा निकाल्न रोकिएको छैन।
कति गहिरो खन्न पाउने भन्ने मापदण्ड पनि छैन। वडा नम्बर १ का वडाध्यक्ष जोगी महतोका अनुसार बस्ती बसाउने बेला तत्कालीन मेयर र वडाध्यक्षले छलफल चलाएनन्। उनले भने, ‘अरू पार्टीका नेता र स्थानीयसँग वडाध्यक्षजीले सल्लाह नै गर्नुभएन। जोखिम नहेरी बस्ती बसाइयो। खाल्डो भर्न र बाँध बाँध्न हामी पहल गर्छौ।’
उनले अहिले खोलामा भइरहेको उत्खननबारे आफूलाई थाहा नभएको पनि बताए। ‘खोला खन्न रोक लगाइएको छ। उत्खनन् भइरहेको मलाई जानकारी भएन। के भएको रहेछ, म सबै बुझ्छु,’ उनले भने।
नयाँ टोललाई खोला किनारका खाल्डाको त्रास त छँदैछ, अर्को त्रास छ बस्ती सामुन्नेको पैनी अर्थात् कुलो। यो कुलो सिँचाइका लागि बनेको होइन। बस्ती बसेपछि नगरपालिकाले बाटो बनाउने क्रममा माटो निकाल्दा बनेको हो।
वर्षायाममा पानीले कुलो भरिन्छ, साना केटाकेटी डुब्ने डर हुन्छ। काम नलाग्ने पैनी पुरिदिन स्थानीय जनप्रतिनिधि र नेताहरूलाई आग्रह गर्दागर्दा थाकिसकेको टोलकै बासिन्दा रेखा रामको गुनासो छ।
‘बच्चालाई हरबखत हेरेर बस्न भ्याइँदैन। बामे सर्दासर्दै बाहिर पुग्छन्। कुन बेला पैनीमा खस्छ, ठेगान हुन्न,’ उनले भनिन्, ‘एक दिन मेरी छोरी पैनीमा खसेकी थिई। पानी सुकेको थियो र बाँची।’
मधेश प्रदेस प्रहरी कार्यालय, जनकपुरका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि गएको मंसिर महिनासम्म पानीमा डुबेर २९५ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७१ जना बालबालिका छन्। अधिकांश घटना मानवनिर्मित संरचनामै भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले बताए।
उनले भने, ‘बालबालिका टाढा जाँदैनन्। घर छेउको पैनी र खाल्डोमा जमेको पानी, साना पोखरीमा डुबेर मर्छन्।’ नाम सार्वजनिक नगर्ने सर्तमा केही भुक्तभोगीले भनेअनुसार बस्तीमा जथाभावी भएको उत्खननको विरोध गर्दा धम्की आउँछ।
ठेकेदार र प्रशासनका मान्छे मिलेका छन्, पीडितको कुरा सुन्दैनन्। नयाँ टोलको अर्को जोखिम पनि बढ्दो क्रममा छ। बालुवा र ग्राभेल निकाल्ने अनियन्त्रित गतिविधिका कारण बसही खोला बस्तीतिर सर्दैछ।
टोलवासीहरूका अनुसार यस्तै हो भने नयाँ टोल चाँडै बाढीले बगाउँछ।बसही खोलामा बाह्रै महिना पानी बग्ने होइन। सुख्खा मौसममा खोलो पनि लगभग सुख्खा नै हुन्छ तर वर्षातमा बाढी आउँछ।