बुधबार, कात्तिक १४ गते २०८१

काठमाडौँ – २ का नयाँ अनुहारः लौरो कति अगाडि ?

काठमाडौँ – २ का नयाँ अनुहारः लौरो कति अगाडि ?

अखबार दैनिक
मंगलबार, कात्तिक २२ २०७९
  • काठमाडौँ – २ का नयाँ अनुहारः लौरो कति अगाडि ?

    काठमाडौं । काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा रहे पनि थोरैको मात्र यस क्षेत्रमा चर्चा छ ।  मुख्यतः यस क्षेत्रमा सत्ता गठबन्धन, एमाले र लौरो अभियानका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

    images


    ३० जनामध्ये अधिकांश उम्मेदवार यो चुनावमा नयाँ अनुहार हुन् । सत्ता गठबन्धनकी ओनसरी घर्ती यसअघि सभामुख भइसकेकी व्यक्ति भए पनि यो क्षेत्रका मतदाताका लागि उनी नयाँ नै हुन् । यो क्षेत्रमा माओवादी पकड अत्यन्तै कमजोर मानिन्छ । त्यसैले ओनसरीको चर्चा चोकचोकमा खासै छैन । तर, गठबन्धनकी उम्मेदवार भएका कारण राष्ट्रिय मिडियाले उनलाई केही स्थान भने दिएका छन् । 


    एमालेले यो क्षेत्रबाट मणिराम फुयाँललाई उम्मेदवार बनाएको छ । यसअघि माधवकुमार नेपालले जित्दै आएको यो क्षेत्रमा फुयाँल नेपालको तुलनामा कमजोर उम्मेदवार मानिन्छन् । एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरासत जोगाउन हेभीवेट उम्मेदवार अघि सार्नुपर्नेमा त्यसो गर्न नसकेको भन्दै एमालेकै कार्यकर्ताहरू उनको उम्मेदवारीप्रति असन्तुष्ट छन् । 

    कतिपय कार्यकर्ता उनमा मिडिया फोबिया रहेको भन्दै व्यंग्यसमेत गर्छन् । मिडियासँग बोल्न नचाहने स्वभावका नेता भएका कारण उनमा मिडिया फोबिया रहेको र आफ्ना उम्मेदवारको भिजन नै जनताले सुन्ने अवसर नपाएको उनीहरूको गुनासो छ । 

    उम्मेदवारहरुबारे चोक चोकमा अनेकन चर्चा सुनिन्छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको चर्चा अन्य केही क्षेत्रमा सुनिए पनि यो क्षेत्रमा उनको पार्टीको चर्चा छैन । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो क्षेत्रमा रवी लामिछाने नै उठ्ने चर्चा थियो । तर, यो क्षेत्रको वस्तुगत धरातल बुझेपछि रवि लामिछाने ब्याक भए । स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको वडा नम्बर  ९ र ३२ मा बालेन साहको लौरो चिन्हले ल्याएको स्वतन्त्र मतदाताको मत देखेर यो क्षेत्रबाट रवी उठ्न चाहेका थिए । उनले स्वतन्त्रको लहर देखेर आफ्नो पार्टीको नाम पनि स्वतन्त्र पार्टी नै राखे । तर, लौरो अभियानले लौरो चिन्हबाटै आफ्ना उम्मेदवार अघि सार्न लागेको सुइँको पाएपछि रवि ब्याक भए । यो क्षेत्रबाट रवि लामिछानेको पार्टीले सोविता गौतमलाई अघि सारेको छ । तर, गौतमको चर्चा खासै सुनिदैन । दोलखाकी गौतम दोलखालीहरुको बाहुल्यता रहेको काँडाघारी, मुलपानी लगायतका क्षेत्रमा पनि चर्चामा नहुनुले उनी कमजोर उम्मेदवार रहेको विश्लेषण गरिएको छ । केहिदिनअघि काठमाडौंको पेप्सीकोलामा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा मान्छेहरुको उपस्थितीलाई हेरेर पनि यो क्षेत्रमा उनी कमजोर रहेको स्थानीयहरुको बुझाई छ । 

    राप्रपादेखि लिएर अन्य केही पार्टी र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा रहेको यो क्षेत्रमा सकारात्मक या नकारात्मक जे जस्तो भएपनि मुख्यतः ३ उम्मेदवारकै चर्चा सुनिन्छ । सत्ता गठबन्धन, एमाले र लौरो चिन्हका उम्मेदवारको चर्चा ।  लौरो चिन्हका उम्मेदवार कोषराज सुवेदी यसअघि राजनीतिमा सुनिएको नाम होइन । तर, यो चुनावमा उनी एकाएक चर्चामा आएका छन् । वित्त क्षेत्रमा करिब २० वर्ष काम गरेका सुवेदीको चुनावी प्रचार शैली अरुको भन्दा फरक देखिन्छ । लौरो टेकेर मतदाताका घरघरमा पुगेका सुवेदीलाई राष्ट्रिय मिडियाले पनि स्थान दिइरहेका छन् ।  लौरो चिन्हबाटै गत स्थानीय चुनावमा बालेन साहले मेयर जितेका कारण लौरो चिन्ह यो क्षेत्रका मतदाताका लागि परिचित चुनाव चिन्ह नै हो । तर, लौरोको चर्चा जति छ त्यति मत खस्छ या खस्दैन त्यो भने मंसिर ४ ले नै बताउला ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार