हरेक व्यक्तिसँग नोट जतिसुकै होस् तर त्यसको जतन कत्तिको गरेका छन् भन्नेले अर्थ राख्छ।
चाडपर्व नजिकिँदै छन्। यस्तोमा नयाँ नोटको प्रयोग गर्ने चलन बढी हुन्छ। जानेर होस् वा अञ्जानमा हामी नोटको जतनबाट चुक्ने गर्छौं। खल्तीमा कच्याककुचुक पारेको नोट किनमेल र सवारीमा भाडा तिर्ने बेलामा निकाल्दा पनि लिनेले पैसा पनि कस्तो जतन गर्न नजानेको भन्न सक्छन्। यसैले नयाँ नोट होस् वा पुराना नोट सफा राखे सभ्य भइन्छ।
नेपाल राष्ट्र बैंकले पनि नोटको जतन गर्न नयाँ नोट नीति ल्याएको छ। यसतर्फ आम सर्वसाधारणको ध्यानाकर्षण गरेको छ। गत असोज ४ गतेदेखि नयाँ नोट सटही गर्न थालेसँगै वेभसाइडमा समेत जतन गर्न सुझाव दिएको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष अर्बौंको नयाँ तथा सफा नोट सटही गर्छ। यस पटकको दसैंलाई लक्षित गर्दै प्रतिव्यक्ति साढे १८ हजारसम्मको रु. ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साटिरहेको छ। गत वर्ष कोभिड महामारीका कारण सटही भएनन्। संक्रमणबाट बच्न सकभर बैंकबाटै डिजिटल कारोबार गर्न जोड दियो। यद्यपि यसअघिका वर्षमा १० अर्ब रुपैयाँबराबरको नोट सटही गर्दै आएको थियो। यस पटकको दसैं–तिहारलगायतका चाडपर्वहरूमा गत वर्ष सटही नभएकाले १० अर्ब रुपैयाँभन्दा बढी सटही हुन सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ।
यद्यपि केन्द्रीय बैंकको तथ्यांकअनुसार गत असारसम्ममा चलनचल्तीमा सबै दरका नोट गरेर ६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँबराबरको रहेको छ। यो बैंक तथा वित्तीय संस्थाको ढुकुटी, सहकारी संस्थाहरू, गैरबैंकिङ संस्था र आम नागरिकसँग भएको रकम हो।
हरेक व्यक्तिसँग नोट जतिसुकै होस् तर त्यसको जतन कत्तिको गरेका छन् भन्नेले अर्थ राख्छ। राष्ट्र बैंककै सुपरिवेक्षण टोली बैंकहरूमा पुग्दा अधिकांश सहकारी संस्थाबाट आउने नोटको बिटोमा स्टिच लगाएको देखिएको बताउँछन्। यो सफा नोट नीतिविरुद्ध हो। सामान्यतया नोटमा केरमेर, कच्याककुचुक, दोबार्ने, च्यात्ने, पोल्ने, स्टिच गर्नेजस्ता गलत प्रवृत्ति नगर्न राष्ट्र बैंकले नीति बनाएर सजग गर्दै आएको छ।
के हो सफा नोट नीति ?
मुलुकभर सफा नोट मात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च न्यूनीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीतिमार्फत सफा नोट नीति ल्याएको थियो। सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको प्रमुख उद्देश्य रहेको छ। आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, मैला नोटहरू फिर्ता लिएर जलाउने नीतिगत व्यवस्था नै सफा नोट नीति हो। जसअन्तर्गत बंैक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानी योग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन्। सर्वसाधारणले प्रयोग गर्ने नोट कत्तिको सफा छ भन्ने कुराले त्यस देशका जनताको चेतनाको स्तर तथा सभ्यताको चिनारी दिन्छ।
यसैगरी, नोट विभिन्न किसिमका काम गर्ने मानिसको हातमा पुग्ने र एक हातबाट अर्को हातमा कारोबारको सिलसिलामा सर्दै जाने हुनाले नोटमा विभिन्न किसिमका रोगका कीटाणुहरू र फोहोरमैला पनि लागेको हुन्छ। यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। नेपाली नोटप्रतिको संवेदनशीलताबारे जनतालाई जागरुक बनाउन, नोटको आकर्षण कायम राख्न पनि सफा नोट नीति आवश्यक हुन गएको छ। नेपाली नोट कागजबाट बनेको नोट हो। यसलाई जतनसाथ प्रयोग गरेमा यसको आयु बढ्दछ।
लेनदेन तथा आर्थिक कारोबारका लागि हामीलाई नोट आवश्यकता पर्दछ। अहिले विश्वमा प्रायः कागजी नोट प्रचलनमा रहेका छन्। यी नोटको व्यवस्था राज्यले गर्दछ। सोको जिम्मेवारी कानुनले नै केन्द्रीय बैंकलाई प्रदान गरेको हुन्छ। त्यसैले विश्वका प्रायःजसो सबै राष्ट्रले मुद्रा निष्कासन र व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई प्रदान गरेका हुन्छन्। नेपालमा पनि यो जिम्मेवारी केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले बहन गर्दै आएको छ। एउटा सभ्य नागरिकको कर्तव्य राज्यले व्यवस्था गरेको नोट तथा सिक्काहरूको सुरक्षा गर्नु, त्यसलाई जतन एवम् सुझबुझपूर्ण ढंगले प्रयोग गर्नु र नोटलाई सफा राख्न प्रयास गर्नु पनि हो। यस्तो बानी गरेमा यसबाट व्यक्ति तथा राज्य दुवै लाभान्वित हुन्छन्।
हामीले नयाँ नोट प्रयोग गर्न पाउँदा प्रसन्न भए जस्तै अरूलाई पैसा भुक्तानीको क्रममा नयाँ नोट दिँदा उनीहरू पनि प्रसन्न हुन्छन्। यसबाट नोटको आयु बढ्दछ। यसले नोट छाप्ने, वितरण गर्ने तथा मैला झुत्रा नोट पुनः जम्मा गरी त्यसलाई धुल्याउने कार्यमा भएको खर्च न्यूनीकरण हुन गई राज्यको साधन बचत हुन जान्छ र राज्यलाई फाइदा पुग्दछ। राज्यलाई फाइदा पुग्दा हामी सबै लाभान्वित हुन्छौं।
नगदभन्दा डिजिटल कारोबार रोज्ने कि ?
पछिल्लो समय मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, वालेट, क्यूआर कोडलगायतका डिजिटल उपकरणमार्फत अनलाइन कारोबार बढ्न थालेको छ। कोभिड सुरु भएको दुई वर्षको अवधिलाई हेर्दा अघिल्लो वर्षको तुलनामा समग्रमा डिजिटल कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा करिब ३ करोड २६ लाख ७४ हजार निक्षेप खाता सञ्चालनमा छन्। गत असारसम्ममा कुल निक्षेपकर्तामध्ये १ करोड ४१ लाख ९४ हजार ८ सय ग्राहकले मोबाइल बैंकिङ कारोबार गर्न आवेदन दर्ता गरेका छन्। बैंक तथा वित्तीय संस्थामा ११ लाख ६० हजार ३ सय २१ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन्। यस्तै, डेबिट कार्डका प्रयोगकर्ता हालसम्म ८८ लाख ३९ हजार ८ सय ५५ जना, क्रेडिट कार्डका ग्राहक १ लाख ९२ हजार ३ सय ७० र प्रिपेड कार्डका प्रयोगकर्ता ६५ हजार ७ सय ८६ जना छन्। कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबारमा आकर्षण बढ्दै गएको हो। बैंक तथा वित्तीय संस्थाहरूले पनि यसलाई जोड दिँदै अब नगदरहित बैंकिङ कारोबारमा केन्द्रित हुँदै आएको देखिन्छ।
अहिलेको युग सूचना प्रविधिको युग हो। वित्तीय कारोबारमा पनि प्रविधिमार्फत भुक्तानीका नयाँनयाँ पद्धतिहरू विकास भइरहेका छन्। चेकबाट भुक्तानी गर्ने तथा विद्युतीय प्रणालीबाट भुक्तानी गरेमा पैसाको प्रयोग कम हुन गई नोटको प्रचलन कम हुन पुग्दछ। यसबाट पैसा हराउने, लुटिनेजस्ता भवितव्यमा नपरिने हुँदा भुक्तानीका नवीन प्रविधिको प्रयोग गर्नु उपयुक्त हुन्छ। हामीले पैसाको प्रयोग कम गर्न सम्भव भएसम्म कारोबारको भुक्तानी, रकम लिने दिने काम तथा खाता ट्रान्सफरको काम अनलाइन माध्यम वा एटीएम कार्डलगायत विद्युतीय उपकरण मार्पmत गर्ने बानी गर्नु पर्दछ। नगदभन्दा बैंक चेक वा पैसा बाहेकका अन्य उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने, झुत्रा नोटहरूको प्रतिस्थापन गर्ने र जाली नोटहरूको प्रयोग नगर्न सचेत रहनुपर्ने बारेमा प्रत्येक नागरिक सुसूचित हुनु आवश्यक छ।
जतन गरे मुलुकलाई भार कम
नोट व्यक्तिको सम्पत्ति मात्रै होइन मुलुकको पनि हो। जति धेरै पैसा त्यति धेरै धनी व्यक्ति भए झै मुलुक पनि हुन जरुरी छ। सम्पूर्ण नेपाली नोटहरू विदेशमा छाप्ने गरिन्छ। छापिएको नोट नेपालमा ल्याउन, नेपालका गाउँठाउँसम्म पुर्याउन, पुरानो नोट विभिन्न ठाउँहरूबाट नेपाल राष्ट्र बैंकमा फिर्ता ल्याउने कार्यमा राज्यले ठूलो खर्च बेहोर्नु परिरहेको छ। यति मात्र होइन, नोटमा नेपाली राष्ट्रिय प्रकृति, संस्कृति, सभ्यता, अंकित हुन्छन्। यसर्थ हामीले नोटलाई आफ्नै सम्पत्ति र राष्ट्रको गौरव ठानेर जतनसाथ प्रयोग गरेमा हाम्रो मन प्रसन्न रहने, नेपाल र नेपालीको सभ्यता उच्च राख्न मद्दत पुग्न जानुका साथै राज्यको खर्च पनि न्यूनीकरण हुन गई नोट छपाइमा प्रयोग हुने स्रोत साधन अन्य काममा खर्च गर्न पाइने हुन्छ।
पुरानो नोट स्वास्थ्यदेखि कारोबारमा समस्या
नोट जति पुरानो भयो स्वास्थ्यलाई हानि गर्छ। मुलुकमा आर्थिक कारोबारमा भएको वृद्धिसँगै अटोमेटेड टेलर मेसिन (एटीएम) को प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। त्यस्ता मेसिनमा पुराना, थोत्रा नोट राख्दा सो मेसिनको कार्यक्षमतामा ह्रास आउने, चाँडै बिग्रिने र भनेको बेलामा पैसा ननिस्कने सम्भावना हुन्छ। अझ महत्वपूर्ण पक्ष कुनै पनि विदेशी नागरिक नेपाल आइपुग्नासाथ उसले गर्ने पहिलो काम भनेको विदेशी मुद्रा दिएर नेपाली मुद्रा सटही गर्नु हो। विदेशी मुद्राको सट्टामा झुत्रो, पुराना नोटहरू मात्र सटही गरिदिनाले विदेशीको मनमस्तिष्कमा पहिलो प्रभाव नै नकारात्मक पर्यो भने त्यसबाट अन्य क्षेत्रमा पनि सोही किसिमको नकारात्मक प्रभाव पर्दछ।
तसर्थ, मुलुकको पहिचान दिने, सभ्यताको स्तर इंगित गर्ने विद्यार्थीसँग नेपाल राष्ट्र बैंक माध्यम भनेको नेपाली मुद्रा पनि हो। त्यसैले, विश्वसामु नेपाली मुद्रा सफा र राम्रो देखिनु उत्तिकै आवश्यक रहन्छ। नोटलाई पट्याउने, कच्याककुचुक पार्ने, पोको पारेर धान मकैको भकारीभित्र राख्ने, माटोमा गाड्ने, नोटमा जथाभावी लेख्ने वा केरमेट गर्ने, आगोले पोल्ने, च्यात्ने, भिजाउने गर्दा नोटको आयु घट्ने मात्र होइन यसबाट माथि भनिएझैँ राष्ट्रको अमूल्य सम्पत्तिको दुरुपयोग हुने, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले नोटको जतन र सुरक्षण गर्नुपर्ने कर्तव्य प्रत्येक नागरिकको हो। साथै, स–साना भुक्तानीको लागि कागजी नोटभन्दा सम्भव भएसम्म सिक्काको प्रयोग गर्ने बानी बसालेमा दीर्घकालमा राज्यलाई नोट तथा सिक्का व्यवस्थापन लागत कम पर्ने तथा उपभोक्ता ठगीमा समेत पर्नु पर्दैन।
जतनमा ध्यान दिनुपर्ने पक्ष
ससाना कुरामा ध्यान नदिँदा नोटको जतन भइरहेको हुँदैन। हामीसँग भएको पैसा हाम्रो सम्पत्ति हो, जसरी प्रयोग गरे पनि हुन्छ भन्ने लाग्न सक्छ। तर यो गलत धारणा हो। नोट देशको सम्पत्ति हो। यसको जतन गर्नु हामी सबैको कर्तव्य हो। राष्ट्र बैंकले नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाउनमा जोड दिन अनुरोध गर्दै आएको छ। यसर्थ सामान्यतया नोटको जतनमा यसरी ध्यान पुर्याउन जरुरी छ।
नोट जोगाउने उपाए
अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने।
नोटमा केरमेट नगर्ने।
समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने ।
नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउने।
नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगर्ने।
नोटको हिफाजतबारे सजग हुने र अरूलाई पनि सिकाउने।
नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्ति हटाउने।
पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछुने।
टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगर्ने।
कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्ने।
नोटलाई मठ–मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा रङ, अबिर, पानी, दूध, रगत आदि नपार्ने।
बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा दिने।
Copy@https://annapurnapost.com/news/187276