आइतबार, मंसिर ९ गते २०८१

सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको समुहविरुद्ध छानबिन सुरु

सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको समुहविरुद्ध छानबिन सुरु

अखबार दैनिक
शुक्रबार, असार ४ २०७८
  • सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलाको समुहविरुद्ध छानबिन सुरु

    आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध दिएको रंगभेदी अभिव्यक्तिको छानबिन सुरु भएको छ ।

    images

    मधेशी आयोगमा बुधबार संग्रौलाको अभिव्यक्तिविरुद्ध उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो। आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत जानकारी गराइसकेको छ । आयोगले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए । घटनाको बिषयमा प्रहरी प्रधान कार्यालयसँग पनि छलफल गरिसकेको र त्यसपछि गृह मन्त्रालयलाई आवश्यक सिफारिस तथा परिपत्र गरिने उनकाे भनाइ छ ।

    दत्तले भने, ‘आयोगमा उजुरी आउने बित्तिकै मैले प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापासँग पनि कुराकानी गरिसकेको छु । अब आयोगले प्रारम्भिक रुपमा छानविन गर्छ र गृह मन्त्रालयलाई सिफारिस तथा परिपत्र गर्छ । त्यसपछि गृह आफैले वा प्रहरी प्रधान कार्यालयमार्फत भए पनि कारवाही प्रक्रिया अघि बढाउँछ ।’

    आयोगले आवश्यक छानविनका लागि सिफारिस र अनुरोध गरेमा कारवाही प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले बताए ।

    संग्रौलासहितको टोलीको गाडी ड्युटीमा खटिएका असई झाले रोकेर जाँच सुरु भएपछि असई झामाथि रंगभेदी व्यवहार समेत भएको थियो । निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए । तर, उनीहरुले देखाउन सकेका थिएनन् । त्यसपछि लाइसेन्स माग्दा समेत उनीहरुले लाइसेन्स देखाउन सकेका थिएनन् । प्रहरीले गाडी होल्ड गर्न लगाएपछि विवाद भएको थियो । महाराजगञ्ज चोकबाट भएको विवाद ट्राफिक वृत्तसम्म पुगेको थियो ।

    प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका थिए । त्यसपछि संग्रौलासहितको टोलीले रंगभेद हुने शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार