अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा दुईवटा शव भेटियो ।
सोमबार भेटिएको उक्त शवहरु दैलेखको आठबीस नगरपालिका-३ निमाइलका एकै घरका दिदीबहिनी १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको भएको प्रहरी अनुसन्धानमा खुल्यो ।
अन्य तीनको खोजी गर्ने क्रममा चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ।
मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।
सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरुको शव भेटिएको दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । ५ वर्षीया छोरी रजनी बडुवालको अबस्था अझै अज्ञात छ । उनको खोजी कार्य जारी छ,’ उनले भने ।
डिएसपी श्रेष्ठका अनुसार पोष्टमार्टनका लागि पठाइएको र वेपत्ता एक जनाको कर्णाली नदीमा गोताखोर टोली र अछाम प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा आमाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने खुल्न आएको छ ।
सोमबार नै इलाका प्रहरी कार्यालय राकमले उनका श्रीमान मानसिंह बडुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराका अनुसार वेपत्ता सुकु आइतबार दिउँसो ४ बजेतिर घाँस काट्न भनी आफ्ना ४ जना सन्तानसहित निस्किएकी थिइन् ।
उपप्रमुख बोहोराका अनुसार उनका श्रीमान् दिनहुँ मदिरा सेवन गरेर कुटपिट गर्ने गर्थे । झैझगडा र कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णालीमा हाम फालेको हुनसक्ने उपप्रमुख बोहोराले बताइन् ।