आइतबार, मंसिर १३ गते २०८३

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

अखबार दैनिक
आइतबार, मंसिर १३ २०८३
  • उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

    काठमाडौँ, १३ मङ्सिरः काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् ।    
        
    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।    
        
    कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन् ।    
        
    त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।    
        
    उहाँका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ ।    
        
    ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उहाँले बताउनुभयो ।    
        
    विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उहाँको भनाइ छ ।    
        
    ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ ।    
        
    प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई  ट्राफिक  नियमको  पूर्ण पालना गर्न आग्रह गरेको छ ।    (रासस)

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार