काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतले कात्तिक ३० गतेको मिति निर्धारण गरेको अदालत प्रशासनले जनाएको छ।
यसअघि बिहीबार सर्वोच्च अदालत प्रशासनले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता हुन नसकेको जानकारी दिएको थियो। पछि आवश्यक प्रक्रिया पूरा गरी रिट दर्ता गरिएको हो।
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। तर, कार्कीले भने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र अझै बुझेका छैनन्।
आफूलाई पदबाट हटाउने सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्। अब कात्तिक ३० गते हुने सुनुवाइले यस विवादमा कस्तो कानुनी प्रक्रिया अघि बढ्छ भन्ने चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस