मंसिर १०,
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा नेपाल सरकारका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई बुटवलमा नेपाली कांग्रेसले कालो झण्डा देखाएको छ । गृहजिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुधबार बिहान सडकमा कांग्रेसको भातृ संगठन नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।
अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालिन आयोजना अवलोकन गर्न जाँदै गर्दा तिनाउ पुल नजिकै भेला भएका कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन समेत गरेका थिए । अर्थमन्त्री पौडेल बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । करिब एक वर्षपछि बुटवल पुगेका अर्थमन्त्री पौडेललाई पदसँग राजधानी साटेको भन्दै कालो झन्डा देखाइएको कांग्रेसले जनाएको छ ।