काठमाडौं, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय थप गरिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको मनोनयन दर्ताको समय आज साँझ ६ बजेसम्म कायम गरेको हो।
यसअघि मनोनयन दर्ताका लागि आज दिउँसो ४ बजेसम्मको समय तोकिएको थियो। उम्मेदवार तथा प्रतिनिधिहरूको चापलाई मध्यनजर गर्दै निर्वाचन समितिले थप दुई घण्टा समय बढाएको जनाएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्धारित समयभित्र मनोनयन दर्ता गर्न नसकेका उम्मेदवारलाई थप समय उपलब्ध गराउने उद्देश्यले समय बढाइएको हो।
महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी दिने क्रम जारी छ। सभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय सदस्यका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ।
मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ। त्यसपछि निर्वाचन कार्यतालिकाअनुसार दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।
कांग्रेसको १५औँ महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ। नेतृत्वका आकांक्षीहरूबीच प्रतिस्पर्धा तीव्र बनेसँगै महाधिवेशनस्थलमा राजनीतिक गतिविधि पनि बढेको छ।
सूचना हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस