बुधबार, असोज २१ गते २०८३

पहिरोले खोसेको जलेश्वरवासीको सपना

पहिरोले खोसेको जलेश्वरवासीको सपना

images
अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • पहिरोले खोसेको जलेश्वरवासीको सपना

    म्याग्दी, २० असोजः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् ।    
        
    म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोबाट थप चपेटामा परेको थियो । बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण भएको छ ।    
        
    यही असोज ८ देखि ११ गतेसम्मको चार दिने झरिपछि बस्ती माथिको राहुवडाको पाखोबाट खस्न थालेको पहिरोका कारण घर छाडेर धर्मशालामा आश्रय लिनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।    
        
    “हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तीलाई विस २०५४ मा खुलेको बेनी–गलेश्वर सडक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो”, इन्द्र बरुवालले भन्नुभयो, “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबाससमेत रहेको लेयर्स र ब्रोइलर कुखुरा, गाईभँैसी र बाख्रापालनको केन्द्र बन्न थालेको जलेश्वरको उठिबास लगाएको छ ।”     
        
    चक्र बरुवाल, भूमिराज बरुवाल र सूर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्न नमिल्ने अवस्था छ । इन्द्र र चक्र बरुवालको तीन हजार २०० कुखुरा पाल्न सक्ने क्षमताको दुई वटा खोरभित्र पसेको पहिरोले एक हजार ५०० बिक्रीका लागि तयार भएका ब्रोइलर कुखुरा नष्ट भएको छ । भवन भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।    
        
    इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगे पनि बस्न मिल्ने अवस्था छैन् । घरभित्र पसेको हिलोले लत्ताकपडा, कागजात, भाँडाकँुडा, अन्नपातदेखि बालबालिकाको कापी किताब नष्ट गरिदिएको छ । घरभरी पहिरो थुप्रिएपछि केहीले बेनी बजारमा डेरा खोजेर बस्न थालेका छन् ।    
        
    “वर्षौंको मेहनत र सङ्घर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पीडा भएको छ”, चक्र बरुवालले भन्नुभयो, “पहिरोले हामीलाई घरबास मात्र नभई रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्री फार्मका सबै संरचना भत्कायो । ती संरचना पुरेपछि जीवन जिउने आधार पनि खोसिदिएको छ ।”    
        
    सुन्तला र केराका बगैँचा पहिरोमा पुरिएको छ । साँझ गलेश्वर धर्मशालामा गएर सुत्ने जलेश्वरवासी पाखोमा चिराचिरा परेर धाजा फाटेको जमिनका कारण जुनसुकैबेला थप पहिरो खस्ने जोखिम देखिएपछि घर फर्कने सम्भावना देखेका छैनन् । दिउँसो आएर घरभित्र पुरिएका सामान खोज्ने र सफा गर्ने जलेश्वरवासीको दिनचर्या बनेको छ । पहिरो जानुअघि उनीहरु कुखुरा, गाईभँैसी र बाख्राको स्याहारसुसार, दानापानीमा व्यस्त हुन्थे ।    
        
    बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन र दूध उत्पादन व्यवसाय फस्टाउँदै गएको थियो । फार्ममा क्षति पुगेकाले विस्थापित परिवारको आम्दानीको आधार गुमेको छ । व्यावसायिक भविष्य अन्योलमा पारेको छ ।    
        
    “हाम्रो घरमात्रै जोगाउने कुरा होइन”, मुक्ति बरुवालले भन्नुभयो, “पूरै बस्ती सुरक्षित हुनेगरी योजना बनाउनुपर्छ । यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने ?” बस्तीको माथिल्लो भागबाट आउने पहिरो र तल्लो भागमा कालीगण्डकीको कटान नियन्त्रण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने बरुवालले बताउनुभयो ।    
        
    उनीहरूलाई तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको चिन्ता छ । कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय र माथिल्लो क्षेत्रबाट खस्ने पहिरोको जोखिमलाई एकीकृत रूपमा व्यवस्थापन नगरे जलेश्वरको समस्या तत्काल टर्ने अवस्था नदेखिएको भूगर्भविद् चम्पकबाबु सिल्वालले बताउनुभयो ।    
        
    बेनी नगरपालिकाका प्रमुख शुरत केसीले पछिल्लो विपद्ले जिल्ला सदरमुकाम बेनी बजारको न्युरोडसहित पालिकाका धेरै बस्ती जोखिममा परेको तथा क्षति भएकाले भू–गर्भविद्को टोली बोलाएर अध्ययन गरिएको बताउनुभयो । अध्ययन टोलीको सिफारिस र सुझावअनुसार बजेट जुटाएर बस्ती संरक्षण, पुनर्निर्माण र पुनःस्थापनाका योजना अघि बढाइने नगर प्रमुख केसीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ