मंगलबार, असोज २० गते २०८३

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    राँझा (बाँके), २० असोजः भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ । दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन जमुनाहा नाका हुँदै घर फर्किएको उहाँले बताउनुभयो ।    
        
    “अहिले बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीहरुको लर्को लागिरहेको छ, प्रत्येक दिन दश हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “सीमावर्ती क्षेत्रमा उहाँहरुमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको छ ।”    
        
    भारतको नयाँ दिल्ली, मुम्बइ र हिमाञ्चल प्रदेशका विभिन्न सहरमा काम गरेर नेपालीहरु दसैँ पर्व मनाउन यतिबेला घर फर्किरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिक सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्नेजस्ता घटना हुन नदिई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।    
        
    “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।”    
        
    भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।    
        
    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउँदै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।    
        
    भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ