सोमबार, कात्तिक १० गते २०८३

कोशी ब्यारेजमा पानीको बहाव  ३० ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव  ३० ढोका खुला

अखबार दैनिक
शुक्रबार, असोज ९ २०८३
  • कोशी ब्यारेजमा पानीको बहाव  ३० ढोका खुला

    इनरुवा ०९ असोज पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। कोशी ब्यारेजमा शुक्रबार दिउँसो १ः१५ बजे गरिएको मापनअनुसार पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

    सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पानीको बहाव बढेपछि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये ३० वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र ४ वटा नहरका ढोका रहेका छन्।

    पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको तथा रातो झण्डा फहराइएको कन्ट्रोल रुमले जनाएको छ। नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै अवस्थाको निरन्तर अनुगमन भइरहेको छ।

    सप्तकोशीमा पानीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सावधानी अपनाउन सचेत गराइरहेको जनाएको छ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले पनि सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ।

    यसैबीच, नदीमा पानीको बहाव बढेको अवस्थामा दहत्तर–बहत्तरबाट आउने काठदाउरा संकलन गर्न नदीमा जाने कार्य जोखिमपूर्ण हुने भएकाले त्यस्तो कार्यमा नजान प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

    नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। वर्षा जारी रहेमा नदीको जलस्तर थप बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ