सोमबार, कात्तिक १० गते २०८३

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

अखबार दैनिक
सोमबार, कात्तिक १० २०८३
  • निर्वासनपछि मचाडोको स्वदेश फिर्ती

    काराकस, ९ कात्तिक भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडो करिब एक वर्षको निर्वासनपछि आइतबार स्वदेश फर्किनुभएको छ । उहाँको स्वागतमा हजारौँ समर्थकले राष्ट्रिय झण्डा फहराउँदै ‘स्वतन्त्रता’ को नारा लगाएका थिए ।    
        
    मचाडोको पुनरागमनलाई राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भेनेजुएलामा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उहाँका समर्थकहरूले निर्वाचनको माग गरिरहेका बेला अन्तरिम सरकारले चुनावको मिति भने तय गरेको छैन ।    
        
    मचाडो गत डिसेम्बरमा नोबेल पुरस्कार ग्रहण गर्न देश छाड्नुभएको थियो । उहाँको पार्टीका अनुसार स्वदेश फर्कने उहाँका कम्तीमा सात प्रयास असफल भएका थिए । उहाँका राजनीतिक प्रतिद्वन्द्वी राष्ट्रपति निकोलस मदुरो नौ महिनाअघि अमेरिकी सैन्य कारबाहीमा पक्राउ परेपछि अमेरिकाको जेलमा हुनुहुन्छ । त्यसपछि मदुरोकी सहयोगी डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति बन्नुभएको थियो ।    
        
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मचाडोको स्वदेश फिर्तीबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने वार्तामार्फत भेनेजुएलामा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन र स्थायी लोकतन्त्र स्थापना गर्ने अवसर रहेको बताउनुभएको छ ।    
        
    मचाडोको पार्टीले सन् २०२७ मा निर्वाचन गराउन र उहाँलाई राष्ट्रपतीय प्रतिस्पर्धामा सहभागी हुन दिन माग गरेको छ । निर्वाचनपछिको दमनमा २८ जनाको मृत्यु भएको र दुई हजार चार सयभन्दा बढी पक्राउ परेको विवरण छ ।    
        
    विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलामा हाल दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । एक दशकअघि उत्पादन दैनिक ३० लाख ब्यारेल थियो । अन्तरिम सरकारले अमेरिकी तथा विदेशी कम्पनीलाई तेल र ग्यासको खोजी, उत्पादन र निर्यातमा पहुँच दिने सम्झौता गरेको छ । रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ