शनिबार, कात्तिक १ गते २०८३

विकाश हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

विकाश हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

आईपीओ निष्कासनपछि पहिलोपटक लाभांश वितरण गर्दै कम्पनी, कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने

अखबार दैनिक
बिहीबार , असोज २९ २०८३
  • विकाश हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

    काठमाडौं, असोज २९ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहीबार कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पहिलोपटक लाभांश वितरण गर्न लागेको हो। साधारणसभाबाट पारित प्रस्तावअनुसार सेयरधनीले बोनस सेयर प्राप्त गर्नेछन् भने नगद लाभांश कर प्रयोजनका लागि वितरण गरिनेछ।

    सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सोही अवधिको लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गरेको छ। यसअन्तर्गत वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण स्वीकृत भएका छन्।

    त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ। सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्नुका साथै संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

    बोनस सेयर जारी गरेपछि पुँजी वृद्धि गर्न कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बढाउने प्रस्तावसमेत सभाबाट पारित भएको छ। यससँगै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ। नियमनकारी निकायबाट संशोधनसम्बन्धी कुनै सुझाव वा परिवर्तन आएमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।

    सभाले कम्पनीको लगानी अनुमोदन तथा आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ। साथै, सञ्चालक समितिका पदाधिकारीको भत्ता तथा सेवा सुविधासम्बन्धी विषयमा आवश्यक निर्णय गरिएको जनाइएको छ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले अघिल्लो वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा दोहोरो अंकको लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे। उक्त प्रतिबद्धता पूरा गर्न सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कम्पनीको वित्तीय अवस्था सुदृढ बनाउँदै सेयरधनीलाई दिगो प्रतिफल उपलब्ध गराउने लक्ष्य रहेको बताए।

    उनले दक्ष व्यवस्थापन, पारदर्शिता, संस्थागत सुशासन र आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत विद्युत् उत्पादन वृद्धि तथा लागत न्यूनीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरे। साथै, यस वर्ष बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट आयोजनामा कुनै क्षति नपुगेको जानकारीसमेत उनले दिए।

    गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ स्थित माछाखोलामा कम्पनीले ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ। उक्त आयोजनाले २०७९ माघ १७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् बिक्री गर्दै आएको छ।

    १० प्रतिशत बोनस सेयर पारित भएसँगै कम्पनीको पुँजी वृद्धि हुनुका साथै सेयरधनीले आईपीओ निष्कासनपछिको पहिलो लाभांश प्राप्त गर्ने भएका छन्। कम्पनीले आगामी दिनमा उत्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै दिगो प्रतिफल सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ