बुधबार, असोज ७ गते २०८३

चागोस सम्झौतामा ट्रम्पको असहमति

चागोस सम्झौतामा ट्रम्पको असहमति

अखबार दैनिक
बुधबार, असोज ७ २०८३
  • चागोस सम्झौतामा ट्रम्पको असहमति

    संयुक्त राष्ट्रसङ्घ, ७ असोज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको पहिलो भेटमा दुई देशबीचको सम्बन्ध राम्रो रहेको बताउनुभए पनि हिन्द महासागरस्थित चागोस टापुहरूको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बेलायती योजनाको आलोचना गर्नुभएको छ ।    
        
    न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मङ्गलबार भएको भेटमा व्यापार, फकल्यान्ड टापु, इरान र युक्रेनलगायत विषयमा छलफल भएको थियो । ट्रम्पले बर्नह्यामलाई ‘प्राकृतिक व्यवसायी’ भन्दै दुई देशबीचको सम्बन्ध विगतको तुलनामा अझ सुदृढ रहेको बताउनुभयो ।    
        
    चागोस टापु सम्झौताबारे ट्रम्पले सैन्य तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रसम्बन्धी ‘खराब सम्झौता’ भएको टिप्पणी गर्नुभयो । बेलायतले सम्झौताअन्तर्गत मौरिससलाई टापुहरूको सार्वभौमसत्ता हस्तान्तरण गर्ने र डिएगो गार्सियास्थित अमेरिकी सैन्य अखडाको भविष्य सुरक्षित गर्ने बताउँदै आएको छ । अमेरिकी समर्थन नहुँदा सम्झौताको अनुमोदन प्रक्रिया रोकिएको छ । बर्नह्यामले भने अमेरिकी साझेदारसँग सहकार्य गरेर सम्झौता अघि बढाउने बताउनुभयो ।    
        
    भेटअघि बर्नह्यामले अमेरिका–इरान द्वन्द्व अन्त्य गर्ने उपायबारे ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो । उहाँले हुथी आक्रमण रोक्न साउदी अरबलाई सीमित सैन्य सहयोग गर्ने घोषणा गर्दै बेलायती विमानले साउदी लडाकू विमानलाई इन्धन भर्ने बताउनुभयो । साथै, युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन अमेरिकी सहयोग बढाउन आग्रह गर्ने उहाँले बताउनुभएको थियो ।    
        
    महासभालाई सम्बोधन गर्दै बर्नह्यामले कृत्रिम बौद्धिकता र गलत सूचनाबाट उत्पन्न जोखिम नियन्त्रण गर्न विश्वव्यापी मापदण्ड र निगरानी आवश्यक रहेको बताउनुभयो । उहाँले एआईमा पारदर्शिता र पहुँचसम्बन्धी नियम बनाउन बेलायतले अन्य देशसँग सहकार्य गर्ने बताउनुभयो । ट्रम्पले भने एआई नियमनका लागि विश्वव्यापी योजना बनाउने प्रयासलाई अमेरिकाले अस्वीकार गर्ने बताउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ