आइतबार, असोज ४ गते २०८३

न्यूयोर्क विश्वकै उत्कृष्ट सहर, काठमाडौं ६८७औँ स्थानमा

न्यूयोर्क विश्वकै उत्कृष्ट सहर, काठमाडौं ६८७औँ स्थानमा

अखबार दैनिक
शुक्रबार, असोज २ २०८३
  • न्यूयोर्क विश्वकै उत्कृष्ट सहर, काठमाडौं ६८७औँ स्थानमा

    काठमाडौं । अक्सफोर्ड इकोनोमिक्सको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क विश्वकै उत्कृष्ट सहरको सूचीमा पहिलो स्थानमा परेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा छन्।

    अक्सफोर्ड इकोनोमिक्सले विश्वका एक हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच प्रमुख आधारमा मूल्यांकन गरी सूचकांक तयार गरेको हो।

    सूचकांकमा न्यूयोर्कले १०० अंक प्राप्त गरेको छ भने लन्डनले ९८ दशमलव ८ र पेरिसले ९३ दशमलव ४ अंक पाएका छन्। शीर्ष १० मा सियाटल, सान फ्रान्सिस्को, डब्लिन, बोस्टन, सान होजे, टोकियो र ज्युरिख पनि परेका छन्।

    नेपालको राजधानी काठमाडौं भने समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ। काठमाडौं अर्थतन्त्रतर्फ ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, जीवनस्तरमा ८४०औँ, वातावरणमा ६३९औँ र शासनतर्फ ६३५औँ स्थानमा रहेको छ।

    सूचकांकअनुसार पाँचवटै आधारलाई समेटेर सहरको समग्र अवस्था मूल्यांकन गरिएको हो। यसमा आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवनस्तर, वातावरण र शासनको प्रदर्शनलाई आधार बनाइएको छ।

    जीवनस्तरको छुट्टै मूल्यांकनमा अस्ट्रेलियाको राजधानी क्यानबेरा पहिलो स्थानमा रहेको छ। आम्दानी, आय असमानता, आवास खर्च, औसत आयु, अपराध तथा मनोरञ्जन र सांस्कृतिक सुविधालगायत विषयलाई जीवनस्तरको मूल्यांकनमा समेटिएको छ।

    त्यस्तै मानवीय पुँजीको सूचकमा लन्डन पहिलो स्थानमा रहेको छ भने वातावरणमा होनोलुलु र सुशासनतर्फ डेनमार्कको कोपनहेगन शीर्ष स्थानमा रहेको छ।

    विश्वका प्रमुख सहरको आर्थिक, सामाजिक, वातावरणीय र शासनसम्बन्धी अवस्थालाई एउटै सूचकांकमा समेटिएको यो मूल्यांकनले काठमाडौंको तुलनात्मक अवस्थालाई समेत देखाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ