शुक्रबार, भदौ १२ गते २०८३

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

अखबार दैनिक
सोमबार, भदौ ८ २०८३
  • गाजामा सेना परिचालनबारे छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारी इजरायलमा

    तेल अभिव, ८ भदौ (रासस/एपी) : गाजामा प्रस्तावित अन्तरराष्ट्रिय सुरक्षा बलमा सेना परिचालन गर्ने विषयमा छलफल गर्न युगान्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले गत साता इजरायल भ्रमण गरेका छन् ।    
        
     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ ले नाजुक युद्धविराम कायम गर्न गाजामा अन्तरराष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने योजना बनाएको छ । बोर्डका एक अधिकारीका अनुसार युगान्डाका अधिकारीहरू बुरुन्डीको सैन्य प्रतिनिधिमण्डलसँगै इजरायल पुगेका थिए ।    
        
     युगान्डाले यसै महिना संसद्बाट गाजामा सेना पठाउने निर्णय अनुमोदन गराएपछि आफ्नो सहभागिताको विवरण अन्तिम रूप दिइरहेको छ । बुरुन्डीले भने अझै कुनै निर्णय गरेको छैन तर प्रक्रियामा अघि बढ्न इच्छुक देखिएको अधिकारीले बताए ।    
        
     बुरुन्डीका एक सैन्य अधिकारीका अनुसार तीन वरिष्ठ अधिकारीसहितको प्रतिनिधिमण्डल इजरायल गएको थियो । युगान्डा र बुरुन्डीले कति सैनिक पठाउने वा त्यसका लागि उनीहरूले के पाउने भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।    
        
     गाजाका लागि प्रस्तावित अन्तरराष्ट्रिय बलमा मोरक्को, कोसोभो, काजाकिस्तान र अल्बानियाले पनि सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । युगान्डाले करिब एक हजार दुई सय र मोरक्कोले पाँच सयसम्म सैनिक पठाउने प्रतिबद्धता जनाएका छन् । अन्य तीन देशले संयुक्त रूपमा करिब ८० सैनिक पठाउने भएका छन् ।    
        
     इन्डोनेसियाले आठ हजार सैनिक पठाउने तयारी गरे पनि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि योजना स्थगित गरेको थियो । प्रस्तावित अन्तरराष्ट्रिय बलमा करिब २० हजार सैनिक रहने र यसको नेतृत्व अमेरिकी मेजर जनरल ज्यास्पर जेफर्सले गर्ने योजना छ ।    
        
     सम्झौताअनुसार उक्त बलले युद्धविरामको अनुगमन, प्यालेस्टिनी प्रहरीलाई तालिम तथा मानवीय सहायता सुरक्षित रूपमा वितरण गर्न सहयोग गर्नेछ । तर इजरायली सेना फिर्ता र हमासको निशस्त्रीकरणसम्बन्धी मतभेदका कारण युद्धविराम कार्यान्वयनमा प्रगति हुन सकेको छैन ।    
        
     युगान्डा र बुरुन्डीले सोमालियामा अल–शबाबविरुद्ध अफ्रिकी सङ्घको शान्ति मिसनमा लामो समय सैनिक परिचालन गरेका छन् । जर्ज वासिङ्गटन विश्वविद्यालयका सुरक्षा नीति विज्ञ पल डी. विलियम्सका अनुसार दुवै देशसँग गाजामा प्रस्तावित मिसनका लागि उपयोगी शान्ति स्थापना अनुभव छ ।    
        
     एक युगान्डाली सैन्य अधिकारीले गाजामा परिचालनका लागि सैनिक छनोट भइरहेको बताएका छन् ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ