शुक्रबार, भदौ १२ गते २०८३

नौ महिनापछि अमेरिकी युद्धपोत फर्कियो

नौ महिनापछि अमेरिकी युद्धपोत फर्कियो

अखबार दैनिक
शुक्रबार, भदौ ५ २०८३
  • नौ महिनापछि अमेरिकी युद्धपोत फर्कियो
    वासिङ्टन, ५ भदौ (रासस/एएनआई) : इरानसँगको द्वन्द्वका क्रममा मध्यपूर्वमा नौ महिनाभन्दा बढी तैनाथ रहेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन स्वदेश फर्कने यात्रामा निस्किएको छ । लामो समय समुद्रमा रहँदा चालक दलमा थकान र मानसिक स्वास्थ्यसम्बन्धी चिन्ता बढेको रिपोर्टबीच युद्धपोत फिर्ता भएको हो ।    

        
    सान डिएगोमा आधारित लिङ्कनलाई जापानमा तैनाथ युएसएस जर्ज वासिङ्टनले प्रतिस्थापन गरेको छ । यससँगै करिब पाँच हजार सदस्यीय चालक दलको असाधारण लामो तैनाती अन्त्य भएको छ । लिङ्कनले २१ नोभेम्बर २०२५ मा सान डिएगोबाट यात्रा सुरु गरेको थियो । फेब्रुअरीमा इरानसँग शत्रुता बढेपछि त्यसलाई मध्यपूर्वतर्फ मोडिएको थियो ।    
        
    लामो तैनातीका क्रममा चालक दलको थकान, मानसिक स्वास्थ्य र खानाको अभावबारे परिवारले चिन्ता व्यक्त गरेका थिए । जहाज करिब २०० दिन बन्दरगाह नपुगी समुद्रमा रहेको बताइएपछि अमेरिकी सांसदहरूले समेत चालक दलको अवस्थाबारे प्रश्न उठाएका थिए ।    
        
    तर अमेरिकी रक्षा अधिकारीहरूले जहाजको अवस्था अत्यधिक बिग्रिएको विवरण अस्वीकार गरेका छन् । अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले त्यस्ता रिपोर्टलाई ‘पूर्ण रूपमा गलत प्रस्तुत’ गरिएको बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तैनाती अत्यधिक लामो भएको दाबी अस्वीकार गर्दै अर्को युद्धपोतले लिङ्कनलाई प्रतिस्थापन गरिसकेको बताउनुभएको थियो ।    
        
    अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले अगस्ट १६ मा युद्धपोतको निरीक्षण गर्दै चालक दलको लचिलोपनको प्रशंसा गर्नुभएको थियो । उहाँले लामो समय समुद्रमा तैनाथ रहनु चुनौतीपूर्ण हुने स्वीकार गर्दै लिङ्कनमा नौसेनाका ११ सक्रिय विमानवाहकमध्ये तुलनात्मक रूपमा कम मानसिक स्वास्थ्यसम्बन्धी घटना अभिलेख भएको बताउनुभएको थियो ।    
        
    नौसेनाका प्रतिनिधिले आत्महत्याको प्रयास वा आत्महत्यासम्बन्धी विचारमा कुनै अभिलेखित वृद्धि नभएको बताएका छन् । यद्यपि, अगस्ट ३ मा जहाजबाट खसेर उद्धार गरिएका एक नाविकसम्बन्धी घटनाको अनुसन्धान भइरहेको छ ।    
        
    युद्धपोतको फिर्तीले लामो समयदेखि परिवारको प्रतीक्षामा रहेका आफन्तलाई राहत दिएको छ । युएसएस अब्राहम लिङ्कनलाई सान डिएगोस्थित गृहबन्दरगाह पुग्न करिब तीन साता लाग्ने अपेक्षा गरिएको छ ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ