१९ असोज, काठमाडौं ।
अक्सर क्रान्तिलाई उर्जाशिल बनाउन र बस्तुकेन्द्रित गराउने भुमिका युवा पिढिले निर्वाह गर्दछन् । राजनीतिका सुरुवाती चरणहरु चाल्दै सामान्यतः क्रान्ति कुनै सानो जत्थाबाटै सुरुवात हुने गर्दछ । चिया पसलमा चिया पिउँदै, या भनौं सानो नस्लको अस्तित्वको आत्मरक्षाका वा स्वाभिमानको लडाइँकै क्रममा अन्ततोगत्वा मानिसभित्र भएको राजनैतिक प्राणी जागिहाल्छ । निश्चित समयको अन्तरघुलन पश्चात् त्यही राजनैतिक अग्रसरता क्रान्ति र मोर्चामा परिणत हुन्छ । वर्तमान परिवेशमा राजनीतिलाई अझै नजिकबाट नियाल्ने भनेको चिया राजनितिले हो । चिया राजनिती भन्नाले चिया पिएर गरिने राजनीति मात्र होइन, त्यसले त हरेक छिटपुट राजनैतिक परिवेशलाई बुझाउँछ । उक्त चिया राजनीति अहिले यो समयमा झिंझो लाग्दो तरिकाले आम जनमानसमा छाएको छ । त्यही चिया गफ जसमा ठिट्टाहरुले ठट्टा गरेर समय बिताउने माध्यम बनेको छ ।
बडो दिल्चस्प कुरा सुन्न्नुहुन्छ, चिया राजनिती गरिहिँड्ने एउटा युवानै राजनितीलाई डर्टी गेम भन्छ । त्यसले के संकेत गर्छ भने उसले आफ्नो धरातलीय राजनितिलाई स्विकार्न सकिरहेको छैन, अर्थात उ अन्जानमै राजनितिमा होमिएको छ । सोहि युवालाई राजनीति कस्तो लाग्छ तिमिलाई भनी प्रश्न गर्दा अङ्ग्रेजीमा चुरिफुरी दिदैं 'पोलिटिक्स इज नट माइ कप अफ टि' भनी जवाफ फर्काउछन् । बिचरा, कुन मनोदशामा ग्रसित छ के थाहा ! खयर उनिहरुले बुझे अनुरुप राजनीति कहाँ फोहरी खेल हो त नि । त्यो त बनाउनेहरुमा भर पर्ने कुरा हो । एउटा खेलाडिको खराब प्रदर्शनको कारण समग्र खेललाईनै दोषारोपण गर्न अलिक मिल्दैन । यहाँ राजनीति गर्ने व्यक्तिको खराब चरित्रको दोष समग्र राजनितीलाई दिनु पनि उस्तै हो ।
दोश्रो श्रेणीका कतिपय युवाहरुका लागी राजनीति शिक्षाभन्दा पनि महत्त्वपूर्ण लाग्ने गर्छन् । उदाहरणको लागि बिध्यार्थी राजनीति गर्दै आएका अमुक संगठनका नेता ज्युहरुलाई हेर्नुस् । खै किन हो पढाईलाई पहिलो प्राथमिकतामा राखेको बिरलै देखिन्छ । जुनसुकै होस् पद चाहिँ हात बाट छुट्नु भएन । अनि यहि जमातबाट शिक्षा क्षेत्रलाई सुधार गर्दै देश चलाउने दिग्गज नेताहरु बन्छन् । शिक्षा सुधारका निमित्त स्थापित गरिएको बिध्यार्थी राजनितीले शिक्षा बहिष्कार जस्तो रणनीति निम्त्याउने गरिरहँदा आगामी चुनावमा ताला किनेर पूर्वतयारीमा लाग्नु स्वभाविक नै हो।
त्यहीँ भिडमा तेस्रो प्रकारको युवा वर्ग भने निकै चतुर, उग्र र चापलुशीबाज हुने गर्दछन । आफ्नो नेताको आज्ञाकारी पुत्र बन्ने होडमा लागि परेका हुन्छन् । मेसो मिलाएर भन्नू पर्दा राजनीतिलाई भन्दा पनि कूराजनितिलाई फलो गर्ने गर्छन । उनिहरुको अधिकांश समय पार्टी कार्यलय र पुलिस चौकीमै बित्छन् । आज कहाँ हड्ताल गर्ने, के-के तोडफोड गर्ने हो, कसले के दिन्छन् र कसलाई धुत्न पाईन्छ भन्नी कुरा सोच्दा सोच्दै उनिहरुको समय बित्ने गर्छ । ठेक्का पट्टा दलाली, भ्रष्टाचार र अपराधीक कार्य कतै घट्दा यो युवा वर्गलाई भुल्ने कुरै भएन।
चौथो युवा वर्ग भने सार्है असल, नियमका परिपालक र गुणवान् हुन्छन् । तर दुर्भाग्य कुरा के भने यहि वर्ग हरेक कुरामा फगत स्वार्थ पुर्तिको लागि प्रयोग गरिन्छन् । उनिहरु शिक्षा र राजनीति क्षेत्रमा अब्बल त हुन्छन् नै साथसाथै हरेक राजनितिक गोष्ठीहरुमा उत्तिकै सक्रिय रहन्छन् । उनिहरुले राजनितीमा पूरा जवानी सुम्पिए पनि परिणाम एउटै हो हात लाग्यो शून्य । चतुर र चाप्लुसी गर्न नजान्नुको परिणाम यहि हो । देशलाई खाँचो भएकै युवा वर्ग यहीँ हो तर राजनीतिको दलदलमा खुट्टा तानेर वा मुखमा पट्टि बानेर भएपनी चुप गराईदिन्छन । अनि समृद्धि नेपाल र सुखी नेपालीको सपना यहिँनिर हुन्छ चकनाचुर ।
हाल पाचौं श्रेणीका युवा वर्गको बारेमा धेरै विवेचना गर्नु वाञ्छनीय छैन किनकी उनिहरु प्रदेश न. ५मा निकै ब्यस्त छन । म आश्चर्यमा पर्छु, राजधानीको लागि अराजकपुर्ण ढंगले रमिता देखाउनु कत्तीसम्म जायज छ । र यहिले परिपाटीले हामिलाई कहाँ पुर्याउँछ ।
यसैगरी युवाको वर्गीकरण गर्नेहो भने लामो शुचि तयार गर्न सकिन्छ । यद्यपि समाजमा युवा राजनीतिलाई छुटै आकार दिदैँ धमिलो गराउँदा आगामी दिनहरुमा देशले फड्को मार्ला वा समाज समृद्धि तर्फ लम्किन्छ होला भन्ने कुरा संदिग्ध गराउने खालका छन् ।
इतिहासको पाना पल्टाउँदै हालसम्म आईपुग्दा वयस्क वर्गले शासनसत्ता हातमा लिएको देख्दा युवा क्रान्तिलाई सशक्त ढङ्गले लैजान जरुरत देखिन्छ । अहिलेको सन्दर्भ हेर्ने हो भने युवा राजनीति कतै न कतै धमिलो हुँदै गएको प्रष्ट हुन्छ । युवाहरुको प्रकारलाई ब्याख्या गर्नुको तात्पर्य देशबाट सक्षम नेतृत्व विलीन भएको भन्नू चाहिँ होइन । अज्ञानता भन्दा अल्पज्ञान खतरापूर्ण हुन्छ । मान्नुस वा नमान्नुस बौद्धिकता, शिक्षा र नैतिकता पनि राजनीतिका सेरोफेरोमा चल्ने एकाई हुन । समग्रमा भन्नू पर्दा सम्पुर्ण कुराहरुले सम्पन्न भएका कुशल र सक्षम युवा लिडरहरु पनि यहि राजनीतिको धमिलो पानीमा कतै विलीन हुँदैछन् । अब आश छ त्यो राजनीतिको धमिलो पानीलाई सङ्लो बनाउदै, समृद्धिका खाका युवाहरुले कोर्नैपर्छ । वर्तमान राजनिती यति धरासायी हुँदा समेत आम जनतामा आशा अझै कायम छ । म भने आशा भन्दा धेरै माथिको विश्वास देख्छु युवा राजनितिमा । यात्रा परिवर्तनको सम्भव छ ! देशभन्दा पहिला युवा स्वयं परिवर्तनको गतिमा अगि बढ्नुपर्छ तब मात्र परिवर्तन क्रमिक रुपमा देख्न सक्छौं ।
-सागर चापागाई
बिए एल् एल् बि्, नेश्नल ल कलेज