विशाल दत्त भट्ट
कुनै एक अमुक पत्रीकाकि एक स्तम्भकार बहिनिले एकाबिहानै फोन गरिन् । मैले अबिलम्ब फोन उठाईहाँले । बिहानिपख आउने यस्ता फोनहरुले सँगसँगै अवसरहरु पनि लिएर आउँछन् भन्ने मेरो विश्वास छ । त्यसैले पनि म यी यस्ता कल उठाउन सकभर पछि पर्दिन । औपचारिक हाईहेल्लो पश्चात् उताबाट उनी भन्दै गईन्, "दादा कोरोना महामारी विषयक एउटा लेख हजुरलाई मेल गर्देको छु, समय मिलाएर सम्पादन गरिदिनुहोला है । भोलिनै प्रकाशित गर्नुपर्नेछ ।" पर्याप्त फुर्सदका बाबजुद मैले हुन्छ भन्न सकिन । "नानु सायदै सम्पादन गर्न सकिएला, भरसक समयले भ्यायसम्म प्रयास गर्छु नि ।" मैले दिक्दारी हाँसो हाँस्दै भने ।
मैले यो कुरा यहाँनेर किनपनी जोडेको भने आजभोलि कोरोनाका बारेमा समाचार पढ्न पाठकहरुलाई झैं लेखकलाई पनि लेख्नमा कुनै उत्साह छैन ।
कोरोना महामारी फैलिएसँगै कोरोना बिषयकै सेरोफेरोमा रहेर एकाध दर्जन लेखहरु पढ्ने लेख्ने र सम्पादन गर्ने मौका पाएको थिए । क्रमशः आजको दिनसम्म आईपुग्दा दिक्दारिको कसिले बाँधिएको महसुस हुन्छ । सुरुका दिनहरू लेख्न बस्दा जुन जोशिलो मनोद्वेग थियो आज त्यो त छैन तरपनी न्युनतम सामाजिक जागरुकताका लागि लेख्नैपर्छ भन्ने लाग्छ । यो आम लेखक, पत्रकारको लागि चुनैतिको विषय पनि हो । चुनौती यसअर्थमा कि यस संकटको घडीमा आफ्नो ठाउँमा रहेर उसले आफ्नो कर्तव्य कुन ढंगले निर्वाह गर्दै छ । यसको मुल्यांकनकर्ता अर्थात आम जनता आफैं थिर मनोदशामा नरहेकोले पनि स्वयं कर्तव्यनिष्ट भएर आत्ममूल्याङ्कन गर्नैपर्छ । पलपलको कोरोना सम्बन्धी अफवाह र यथार्थको भुमरीमा पिल्सिएका मजस्तालाई झिँझो लाग्नु मनासिब नै मान्छु म ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी) को सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले एकाध हप्तादिनदेखी निषेधाज्ञा जारी गरेको छ । तर उक्त निषेधआज्ञा अर्थपूर्ण देखिएकका छैनन् । सम्बन्धित जिल्लाहरूमा निषेधाज्ञा लगाएपनि त्यसपछिका कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप पहलकदमिको कुनै तयारी, कार्यक्रम र योजना छैनन् । यो प्रतिकूल घडिमा न्युनतम सामाजिक सचेतना जगाउने र आइसोलेसन ब्यबस्थित बनाउने कामहरू सरकारको कार्यसुचिमै छैनन् । स्थानीय निकाय पनि विस्तृत कार्यविधी बनाउन छोडेर केन्द्रिय सरकारको अनुकरण गरेर वेवास्तापूर्ण ढङ्गले बसेका छन् ।
आउँदा दिनहरूमा कोरोनाले अझै कतिसम्म दुख दिनै छ त्यो अकल्पनीय छ । भौगोलिक र जनसंख्याको हिसाबले सानो भएपनि मित्र राष्ट्र अमेरिका र भारतको अनुपातमा नेपाल अझै प्रभावित हुनसक्ने यथेष्ट कारणहरु देख्न सकिन्छ, जसमध्य लापरबाही र हेल्चेक्राई अग्रपंक्तिमा आउँछन् । कोरोना भाईरसको रोकथाम र गम्भीरता सहि ढङ्गले मनन नगेर यसको तत्कालीन असरबाट उम्कन त सकिन्न साथसाथै दीर्घकालीन असरहरु बाट उम्कने ढोकाहरु पनि बन्द हुने जोखिम बढ्छ ।
कोरोना महामारी सगँसगैँ अर्को मुलभुत कुरा भनेको मिडिया अतिरञ्जना पनि हो । यद्यपि यो अलग्गै बहसको विषय हुन पनि सक्छ । परिस्थितिको प्रतिकुलतलाई हेर्दा यस्ता कुरालाई उपेक्षा गर्नुनै बेस हुन्छ । बरु अन्य आधारभूत कुराका बहसमा केन्द्रीकृत भए यो संकटको घडिलाई संयमताले पराजित गर्न सकिन्छ । मिडियाले फुकेजत्तिको घातक पनि त होइन कोरोना भाईरस । मिडियाको त धर्म भनेकै समाचार बिकाउने हो । त्यसैले उ जान्दछ, दुख, पीडा, सहानुभूति र भय चाँडै बिक्छ । मिडिया त फगत आफ्नो धर्म निभाईरहेछ ।
यो संकटको घडिमा मिडियालाई आँखा चिम्लेर विश्वास गर्ने अवस्था किमार्थ छैन । मिडियालाई एकतर्फी विश्वास गर्दै जाने हो भने कोरोनाबिरुद्दको लडाइँमा जित हाँसिल गर्न असम्भवप्राय नै छ । मिडियाकै लहैलहैमा लागेर मान्छेहरूले कोरोनालाई यतिविधि घृणा गर्नु जरुरी छैन । कोरोना भाईरस सार्सजस्तो १० प्रतिशत मृत्युदर वा मर्सजस्तो ३० प्रतिशत मृत्युदर वा इबोलाजस्तो ५१ प्रतिशत मृत्युदर बोकेर आएको पनि त छैन । कोरोना लाग्नेबित्तिकै शतप्रतिशत मानिसले मृत्युवरण गर्नुपर्ने भएको भए मात्र हाम्रो कुन हालत हुन्थ्यो कल्पनातीत विषय छ । कोरोना भाईरस मान्छेको अस्तित्व निमिट्यान्न पार्न होइन, सबक सिकाउन आएका हो । हाम्रो असमाजिक जीवनलाई समाजिक बनाउन आएको हो । यसबाट सिक्नुपर्ने पाठहरु यथेष्ट छन् ।
सरकारले लकडाउन गरेपछी आम मानिसको व्यस्त र महत्वाकांक्षी जीवन एकाएक क्रमभङ्ग भयो । अनवरत बगिरहेको समय सँगै कैयन योजनहरुले बिट मारे । जातपातका कुरा गरेर अरुलाई हेपचेपमा पार्नेखोज्ने मानिस स्वयं आफैं अछुत बन्नुपर्दा उक्त कष्टकर मनोदशाको नजिक आफुलाई सजिलै उभ्याए । हरेक सर्वसाधारणहरू दिनचर्याबाट मात्र अलग छैनन्, आफ्ना व्यस्त जिवनशैलीबाट पनि भिन्न उभिएका छन् । सुरुका केही महिने लकडाउनले नै हामिलाई उकुसमुकुस बनाइसकेको थियो । हामीले सरकार बिरुद्ध लकडाउन खोल्न प्रतिकार पनि गर्यौं । तर अहिले परिस्थितिले कोल्टे फेरिसकेको छ । हजार आसपासको संख्यामा दैनिक संक्रमितहरु थपिदैं छन् । मृतकको संख्यामा पनि दैनिक वृद्धिदर बढ्दो छ । छरछिमेक र टोलगाउँमा संक्रमित फेला परेको खबरले बेलाबेला भयभीत तुल्याउँछ ।
अब मस्तिष्कले होइन मनले सोच्ने बेला आएको छ । हाम्रो स्वास्थ्य र घर परिवारभन्दा ठूलो हो र हाम्रा महत्वाकांक्षाहरु ? जीवनमा फेरिपनी चाहिएजती लक्ष्य हासिल गर्न सकिएला तर एकबारको जुनिमा स्वस्थ्य र घरपरिवार फेरिफेरि प्राप्त गर्न सकिन्न । एकपटक मनन गर्नुस् । एकाध महिना अघि एक-दुई जना संक्रमित फेला पर्दा जुन सजगता हामिमा थियो पुनः उजागर गर्नुस् । जीवनमा धेरै बाँच्नुछ, अझै धेरै सफलता हाँसिल गर्नुछ, परिवारलाई धेरै खुशी दिनुछ । अब त आफू र परिवारलाई घरभित्र सुरक्षित राख्नुको बिकल्प पनि छैन । हेर्नुस् त हेर्दाहेर्दै अब त कोरोना दैलोमै आईपुगिसकेछ.........