बिहीबार , असोज ३ गते २०८१

१ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारू हुने

१ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारू हुने

अखबार दैनिक
मंगलबार, साउन ६ २०७७
  • १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सुचारू हुने

    ६ साउन काठमाण्डौं । आगामी १ भदौदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । सुरक्षा प्रोटोकलको टुंगो पर्यटन मन्त्रालयले केही दिनभित्रै तय गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले बताए । ‘आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै मापदण्ड बन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास हेरेर हामी मादपण्ड बनाई हवाई सेवा सुचारु गर्छाैं ।’ 

    images

    हवाई सेवा सुचारुबारे पर्यटन मन्त्रालयले नै अध्ययन गरेको प्रतिवेदनका आधारमा सरकारले सुचारु गर्ने निर्णय गरेको हो । शनिबारको सिसिएमसीको बैठकमा पनि यसबारे छलफल भएको थियो । कोरोना संक्रमणका कारण नेपालमा ९ चैतदेखि अन्तर्राष्ट्रिय तथा ११ चैतदेखि आन्तरिक उडानमा रोक लगाइएको थियो । त्यसयता उद्धारका लागि मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । 

    आन्तरिक उडानको भाडाबारे एयरलाइन्स व्यवसायीहरूसँग छलफल गरी लागू गरिने मन्त्री भट्टराईले बताए । अन्तर्राष्ट्रिय यात्रुको हकमा पिसिआर टेस्ट अनिवार्य गर्न लागिएको छ । विदेशबाट आउने सबै यात्रु अनिवार्य रूपमा क्वारेन्टाइनमा समेत बस्नुपर्नेछ । 

    त्यस्तै, बैठकले छोटो दूरीमा अन्तरजिल्ला पनि सवारीसाधन चलाउन दिने निर्णय पनि गरेको छ । यस विषयमा यातायात मन्त्रालयले थप योजना बनाएर लागू गर्ने एक मन्त्रीले जानकारी दिए । जिल्लाभित्र यसअघि नै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भइसकेको छ । 

    सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच सोमबार भएको छलफलमा बिहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति जुटेको हो । 

    बिहीबारबाट सार्वजनिक सवारीसाधन चलाउने सहमति

    सरकार चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा गर्नुपर्नेलगायतका व्यवसायीको मागमा सहमत भएको छ ।  नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्मचार्यले उच्च सुरक्षा अपनाएर सवारीसाधन सञ्चालन गरिने बताए । उनले भने, ‘हाम्रा केही माग थिए । केही मौद्रिक नीतिले सम्बोधन गरेको छ । केही मागमा यातायात व्यवस्था विभागसँग छलफल गरेर सहमति गरेका छौँ ।’ लामो दूरीका सवारीसाधन पनि चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको कर्मचार्यले बताए ।  

    यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल  यातायात  स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल  यातायात मजदुर संघबीच सोमबार छलफल भएको थियो । 

    यातायात व्यवस्था विभागले कार्यविधि कडाइका साथ लागू गरिने  जनाएको छ । विभागले  कोरोना महामारीको समयमा सुरक्षित रहन कोरोना महामारीमा सार्वजनिक सवारीसाधन शीर्षकमा कार्यविधि बनाएको छ । कार्यविधिमा सवारीसाधनमा एक सिटमा एकजना मात्र यात्रु बस्न पाउने, चालक र सहचालकले अनिवार्य रूपमा पञ्जा, मास्क लगाएको हुनुपर्ने, हरेक सवारीसाधनमा स्यानिटाइजर लगाएको हुनुपर्ने, यात्रु चढाउँदा र ओर्लंदा सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका विषय समेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ