काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गति जेनजी आन्दोलनपछि कमजोर र अस्थिर बनेको दाबी गरेका छन् । आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग भएको अन्तरक्रियामा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा देश स्थायित्व र समृद्धिको दिशामा अघि बढिरहेको तर पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई भताभुङ्ग भएको दाबी गरे ।
‘म देशमा समृद्धि ल्याउनुपर्छ, समानता ल्याउनुपर्छ, शान्ति र सुव्यवस्था विस्वस्त ढंगले कायम गरिनुपर्छ र सबैको जिउधनको सुरक्षा हुनुपर्छ भन्नेमा विश्वास राख्छु,’ ओलीले भने– ‘हरेक नागरिकले सम्मानजनक जीवन जिउन पाउनुपर्छ। म प्रधानमन्त्री हुँदा लेखेकै कारण कसैलाई त्रसित हुनपर्ने अवस्था थिएन, देश विकासको बाटोमा अघि बढ्दै थियो।’
उनले अहिलेको अवस्थाबारे टिप्पणी गर्दै भने– ‘त्यो बाटो भताभुङ्ग भएको छ, अस्थिरता र अनिश्चयताले देशलाई पछाडि धकेलेको छ।’ ओलीले मुलुकप्रति आफ्नो बफादारिता अटल रहेको उल्लेख गर्दै भने ‘कसैलाई मन परोस् वा नपरोस्, मेरो देशप्रतिको निष्ठा कहिल्यै कमजोर हुँदैन।’