विशाल दत्त भट्ट
१८ औं शताब्दीको एउटा प्रख्यात भनाई छ, 'समय र छालले कसैलाई पर्खदैन ।' उक्त भनाइ सत्य पनि हो । सत्य पनि हो हैन, सत्य हो नै । उपरोक्त भनाईलाई न त प्रतिवाद गरेर किनारा लाउन सकिन्छ त त आलोचना गरेरै असत्य सावित गर्न सकिन्छ । समयको विभिन्न कालखण्डलाई पार गर्दै युगले सारा विश्वलाई बिज्ञान र प्रविधिको संघारमा पुर्याएको छ । समयको क्रमिक विकास सँगै मानव सभ्यतामा धेरै कायाकल्प भए । ति मध्यको मुख्य कायापलट भनेकै बिज्ञान र प्रविधि क्षेत्र हो । वर्तमान परिवेशमा बिज्ञान र प्रविधिको उपज स्वरुप अनलाइन कक्षा लिन पाउनु बिज्ञान र प्रविधिको एउटा अनुपम उपहार हो । केही शताब्दी अगाडीको परिदृश्यलाई फर्केर हेर्नेहो भने मात्र पनि आजको कुरा पत्याउनै नसकिने कुनै अकल्पित कथाजस्तो लाग्थ्यो । ईन्टरनेट सँगै बदलिँदो युगमा अनलाईन शिक्षा आधारभूत आवश्यकता भईसकेको छ । यस्तो बदलिँदो चुनौतिको जमानामा जुनसुकै विद्यार्थीका लागि अनलाइन शिक्षा बरदान सावित हुनसक्छ । समाजिक संजालबाट शिक्षक र विद्यार्थीविच अनुभव अदानप्रदान तथा सहजै ढंगले प्रश्न राखेर अध्ययन गर्न पाउँनु गैरवको कुरा हो ।
कारोना भाइरस (कोभिड ( १९) को सङ्क्रमणबाट विश्व नै आक्रान्त बनेको यस घडीमा विश्वको ध्यान केबल आफ्ना योजनाहरुमा केन्द्रित छन् । हिजो आफुले बनाएका योजनाहरुलाई भोलि कसरी फेरि निरन्तरता दिनेभन्ने बारेमै विश्व असाधारण तवरमा अलमलिएको छ । त्यसमध्य आफ्ना पूर्वयोजनाहरु र शिक्षा सुचिको अग्रपंक्तिमा अटाएका छन् । माहामारी र लकडाउन जारी रहेकै अवस्थामा शैक्षिकसत्र कहिलेबाट शुरु हुने र कहिलेदेखि नियमित कक्षा सञ्चालन हुने निश्चित नभएपछि विद्यालयहरुले भर्चुअल कक्षा शुरु गरेका छन् । आवश्यक्ता नै आविष्कारकी जननी हुन् भन्ने भनाईलाई सार्थकता दिन वा भनौं एक अर्थमा प्रष्ट पार्न लकडाउनको समय तत्पर देखिएको छ ।
कोरोना संक्रमणका कारण चैत ५ गते नै बार्षिक परीक्षा सकेर विदा दिएका विद्यालयहरुले अहिले सम्म पनि नयाँ शैक्षिक सत्र शुरु गरेका छैनन् । र चैत ६ गते बाट गर्ने भनिएको एस.ई.ई परिक्षा पनि अन्तिम अवस्थामा आएर अनिश्चितकालका लागि पछाडि धकेलिएको छ । सो समयमा बिद्यार्थीलाई पढाईमा एकत्रित अघि डोर्याउन अनलाइन क्लास उत्तम विकल्प ठहरिएको छ । तर पूर्वाधारको कमि र अपर्याप्त प्रविधिमैत्री वातावरणको कारण पनि अनलाईन शिक्षालाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा भाँडभैलो मच्चिइरहेको छ । त्यसबारे निकै बहस र विवाद सृजना भइरहेका छन् । कोहि यसको पक्षमा उभिएका छन् भने कोहि यसको बिपक्षी मत प्रकट गरिरहेका छन् ।
लकडाउनको अवधिमा घरमा सुरक्षीत बसेर विद्यार्थी र शिक्षकका लागि अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना हुनु सुखद कुरा हो । जसले गर्दा कुनै पनि विद्यार्थीलाई यो लामो बिदामा बस्दा द्धिविधात्मक मनस्थिती लिएर बिना गन्तव्य अगाडि बडिरहनु पर्ने छैन ।
फेरि यो माहामारिको समयमा आईपुग्दा अनलाईन कक्षानै अन्तिम विकल्प भने होईन । अन्य येथेष्ट विकल्पहरु पनि छन् जसले बिद्यार्थीलाई यो समय धेरै टेवा दिनसक्नेछ । अनलाइन शिक्षालाई हामीले अझ बढी ‘प्राक्टिकल सेन्स’ अर्थात व्यावहारिक हिसाबमा हेर्नुपर्छ । त्यसको सापेक्षता र निरपेक्षता दुबैको सहि अर्थमा विश्लेषण गरिनुपर्छ । सरकारले पनि सम्भावित जोखिम न्यूनीकरणको लागि कुनै पनि विषयवस्तुलाई पूर्वतयारी गरेर मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्नुपर्थ्यो । यो राज्यको आधारभूत दाइत्व मध्यको एक हो । समस्याका समय जनतालाई लामो समयसम्म मौलिक हकबाट बञ्चित गर्दा प्रभावकारी नीति भएन भने त राज्यको आधारभूत कर्तव्य नै उसले पूरा गर्न सक्दैन ।
पूर्वयोजना बिपरित यसरी एकाएक आपत आईपरेको अवस्थामा एकाएक अनलाइन क्लासलाई लिएर भाँडभैलो मच्चाउनुमा सम्बन्धित निकायको जिम्मेवारीबोध कम र होडबाजी बढी देखिन्छ । पहिलो कुरो त ग्लोबल ट्रेण्डलाई पछ्याउन हाम्रो भौगोलिक स्रोतसाधन अपूर्ण छन् । फेरि नेपालको अनलाइन शिक्षाको सन्दर्भमा विद्यार्थीभन्दा प्राध्यापकहरुलाई अनलाइन प्रणालीको प्रभावकारी प्रयोगसम्बन्धी प्रशिक्षण आवश्यक रहेको छ । भर्चुअल वातावरणमा कार्य गर्दा संक्रमणकालीन मनोविमर्श उचित ढङ्गले गराउनुसक्ने हुनुपर्छ । तसर्थ मनोसमाजिक परिस्थितिको आवस्यकता रहन्छ । यसका साथै प्रविधिमैत्री विद्यार्थीहरुलाई पनि परिचालन गरेर विद्यार्थीहरु माझ परिवर्तन सहज बनाउन उपयुक्त हुन्छ । फेरि अर्को बिडम्बना, कमजोर ब्याण्डविथसँगै आवश्यक अन्य भौतिक पूर्वाधारको कमी तथा विद्यार्थी र शिक्षकहरु प्रविधिप्रति सचेत नभएका कारण पनि अनलाईन शिक्षा प्रभावकारी नभएको अनुमान सजिलै गर्न सकिन्छ । यसरी रातारात अपूर्ण तयारी बिच क्याम्पस र विश्वविद्यालयहरुले अनलाईन क्लास सञ्चालनमा ल्याउनु आफैंमा चुनौतीपूर्ण कदम हो तर असम्भवनै भनेर हात बाँधेर बस्नु अर्को ठूलो मूर्खता हुनेछ ।
२०१६ सालमा एउटा विश्वविद्यालय बन्यो, अहिलेसम्म ६१ वर्ष भयो नेपालकै पहिलो विश्वविद्यालय बनेको । आफुलाई कुनैबेला एसियाकै उत्कृष्ट विश्वविद्यालय मध्यको गन्ने त्रिभुवन विश्वविद्यालय राजनिती र कर्मचारी तन्त्रले भताभुङ्ग बनाइयो । अहिलेसम्म औंलामा गन्नमिल्नेगरी कुनै उल्लेखनीय उपलब्धि भएको रेकर्ड छैन त्यसमा । बरु उल्टै क्रमशः खस्कँदो गतिमा गयो । ज्ञान–विज्ञानको यस्तो प्रचण्ड विस्फोट भइरहेको बेलामा नेपालको त्रिभुवन र अन्य विश्वविद्यालयले विश्वस्तरिय शैक्षिक दाँजोमा आफुलाई उभ्याउन नसक्नु लज्जाको विषय हो । त्रिभुवन विश्वविद्यालयको स्थापना कालदेखी कयौं शैक्षिक प्रणाली आएका होलान्, कति माटोसुहाउँदो नभएर हटेर पनि गए होलान् । त्यसको सुधारको लागि कयौं शिक्षा निकाय र कार्यक्रम पनि ल्याईए होलान्, तर ती अमुक निकायले त्यो देख्दैन । किन देख्दैन भन्दाखेरि त्यो आफू स्वयं किचलोमा अल्झेको छ । किचलोकै कारण नेपाली शिक्षा निति नेपाली माटो सुहाउँदो कहिलै हुनसकेन ।
तिनै तमाम किचलोले यति ठूलो समस्या खडा गर्यो कि, त्यसले गर्दा शिक्षाका बारेमा छलफल, चिन्तन गर्ने चिज नै यो ६०-६१ वर्षयता आउँदै आएन । त्यही हिजोको किचलोमै अभ्यस्त हुँदै गयो । त्यसले शिक्षाको गति अवरुद्ध गरायो । शिक्षालाई झनै पछाडी पुर्याइरहेको छ । यो गर्नै नहुने किचलोको जड मुख्यतः राजनीति र कर्मचारितन्त्र नै हो । यो किचलो खडा नगरिदिएको भए नेपालीको शिक्षा प्रणाली निकै अगाडि बढिसक्थ्यो । हाम्रो शिक्षा विश्वबजारमा बिक्न यति हम्मे हम्मे पर्नेनै थिएन । खयर अहिले बहसको विषय यो होइन ।
यस्तो माहामारिको बिच पनि मिडियाले जनतालाई सचेत गराउन छोडेर कोकोहोलो गर्दै हिँड्नेहो भने उ आफ्नो कार्यदिशामा असफल हुनेछ ! मिडियाले लेखिदिएर मात्रै, बोलिदिएर मात्रै त भएन । जनतालाई सचेत गराउँदै सकारात्मक संदेश प्रवाह गर्न असमर्थ रह्यो भने मिडियाले आफुलाई राज्यको चौथो अङ्ग भन्नुको हक समेत गुमाउन पुग्छ ।
विश्व बैंकका अनुसार २०१७ मा समग्र आयातको ५.२ प्रतिशत अर्थात् ६६ अर्ब रुपैयाँको सूचना तथा संचार साधन नेपाल भित्रिएको तथ्यांक छ । सोको सहि सदुपयोग गरेमा मात्र हामिले आफुलाई ग्लोबलाईजेसनको नजिक उभ्याउन सक्छौ । तर त्यत्ति भएर मात्र पुग्दैन । सो सङ्ग सम्बन्धित विभिन्न आयामबारे पनि बहस-विवेचना गरिनुपर्छ । अब हामीले जान्नुपर्ने, खोज्नुपर्ने, हेर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार गर्नुपर्ने पाटोचाहिँ त्यही हो । हामीचाहिँ के भने अरुले यसो गरे-उसो गरे, हामीले किन गर्ने-हामिले किन नगर्ने भन्ने कुरा गरेरै किचलो गरेर आफ्नो अमुल्य समय खर्चिरहेका छौं । र यो माहामरिको समयमा आफुलाई संयमताले बाँध्न छोडेर भाँडभैलो र बहसमा रुमल्लिनु असामान्य कोकोहोलो बाहेक केही होइन ।
-भट्ट कानुन विषयका विद्यार्थि हुनुहुन्छ ।