आइतबार, असोज ४ गते २०८३

‘हाउस पेन्टिङ’बाट चौधरीले महिनामै कमाउँछन् एक लाख

‘हाउस पेन्टिङ’बाट चौधरीले महिनामै कमाउँछन् एक लाख

शुक्रबार, मंसिर ७ २०८१
  • ‘हाउस पेन्टिङ’बाट चौधरीले महिनामै कमाउँछन् एक लाख

    शुक्लाफाँटा नगरपालिका–९ नौखरीका ३५ वर्षीय सुरेश चौधरी हाउस पेन्टिङ (घर रङरोगन) को कार्यबाट गतिलो आम्दानी गर्दै आउनुभएको छ ।

    घरमा रङरोगनको काम गरेर चौधरीले महिनामै रु एक लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । नयाँ पुराना घरमा रङरोगनको कामका लागि उहाँले ठेक्का लिनुहुन्छ । महिनामा चार, पाँच घर जतिमा रङरोगनका लागि ठेक्का लिने गरेको चौधरीले बताउनुभयो । “घरमा रङरोगनको काम गर्नका लागि घर हेरेर मजदुर लगाउने गर्छु”, उहाँले भन्नुभयो, “मजदुर थोरै पाइएका बेला आफैँ काम गर्ने गर्छु ।”

    तालिम लिएर रङरोगनको काम गर्न थालेको उल्लेख गर्नुहँदै चौधरीले पाँच जना मजदुरलाई काम गर्न सिकाएकाले काम गर्न सहज हुने गरेको बताउनुभयो । लगनशील भएर इमान्दारीपूर्वक काम गर्ने भएकाले विनाझन्झट काम पाइने गरेको उहाँको भनाइ छ । “तिहार, दसैँलगायत चाडपर्व आउनुअगावै घरमा रङरोगन गर्नेको सङ्ख्या निकै बढी हुने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसबेला आम्दानी पनि दोब्बर हुन्छ, बिहानको ६ बजेदेखि राति ११ बजेसम्म पनि काम गर्दै आएका छौँ ।”

    घरमा रङरोगनका लागि रु २५ हजारदेखि रु तीन लाखसम्मको ठेक्का चौधरीले लिने गर्नुभएको छ । जति ठूलो काम त्यति नै बढी ठेक्काको रकम हुने गरेको उहाँ बताउनुहुन्छ । पुटिङ गर्ने, घिसाइ गर्ने, प्राइमर लगाउने, पेन्ट लगाउने र पेन्ट लगाइएको ठाउमा बुट्टा भर्ने काममा ‘फिनिसिङ’ राम्रो दिने भएकाले पालो पर्खेर घरमालिक बस्ने गरेको चौधरीको भनाइ छ ।

    घरमालिकलाई पनि मर्का नपर्ने र आफूलाई घाटा नहुने गरी ठेक्का लिने भएकाले गुनासो कुनै ठाउँबाट नआउने गरेको सुरेशले बताउनुभयो । रङ, प्राइमर पुटिङ, ब्रसलगायत सामग्री घर मालिकले उपलब्ध गराउने गरेका छन् । पेन्टिङ गर्ने कामको मात्रै उहाँले ठेक्का लिनुहुन्छ । कमैया मुक्तिको घोषणासँगै पुनःस्थापन गर्दा पाइएको पाँच कट्ठा जग्गा मात्रै सुरेशको सम्पत्तीका रुपमा रहेको छ ।

    सात जनाको परिवारको घरखर्च, बालबालिकाको विद्यालयको खर्च, लुगाफाटो सबै रङरोगन गरी आएको रकमले व्यहोरिने गरिन्छ । कमाइको रकमले उहाँले पक्की घर बनाउने योजना बनाउनुभएको छ । भविष्यका लागि केही रकम बैंकमा जम्मा गर्नुभएको छ ।

    “तालिम लिएर दक्ष बनेपछि पैसाका लागि भौतारिँदै हिँड्नुपरेको छैन”, उहाँले भन्नुभयो, “बैंकमा पैसा जम्मा गर्ने भएकाले अप्ठ्यारो परेका बेला झिकेर काम चलाउने गरिएको छ ।” निरन्तर काम पाइए मजदुरलाई ज्याला दिएर रु एक लाखजति महिनाको बचत हुने गरेको उहाँले उल्लेख गर्नुभयो । “पैसा कमाउनका लागि भारत, खाडीमुलुकसहित अन्य देशमा गइरहनु पर्दैन”, उहाँँ भन्नुहुन्छ, “जुनसुकै काममा निपूर्ण भए इमान्दारीपूर्वक काम गरे विदेशकोभन्दा बढी नै कमाउन सकिन्छ ।”

    मजदुरलाई दिनको रु एक हजार ज्याला दिए पनि टिकाउन भने उहाँलाई मुश्किल छ । आय कामभन्दा अलि बढी खटेर काम गर्नुपर्ने भएकाले मजदुरलाई काम सिकाएपछि बीचमै छोड्दा अरु मजदुर खोज्न निकै गाह्रो हुने गरेको उहाँ बताउनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ