बुधबार, मंसिर ५ गते २०८१

शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष दाहाल

शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष दाहाल

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८१
  • शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ : अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।

    images

    नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्दर्भमा आज वक्तव्य दिँदै अध्यक्ष दाहालले शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको बताउनुभयो । “आजको दिन सबैले स्मरण र सम्मान गर्नुपर्ने दिन हो”, उहाँले भन्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत न्यायपूर्ण सङ्घर्षमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    शान्ति सम्झौताको मूलभूत मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने प्रक्रियामा रहेको जानकारी दिँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारका पालामा सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको स्पष्ट पार्नुभयो । “अब त्यो निष्कर्षतर्फ जाँदैछ, हामी सबै यसमा खुसी छौँ”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर नेपाललाई शान्तिको नयाँ ‘मोडेल’का रुपमा प्रस्तुत गर्न आपसी समन्वय र सहकार्य गर्दै अघि बढेका छौँ ।”

    संविधानसभामार्फत संविधान जारी भइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जुन अपेक्षा गरिएको थियो, त्यो पूर्ण रुपमा हुन नसकेको असन्तुष्टि जनतामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ जानुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसका लागि संविधानलाई विकसित र परिमार्जित गर्न सकिने उहाँको भनाइ छ ।

    अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अनवरत खटिने राजनीतिक दल, नागरिक समाज र आमजनताप्रति आभार प्रकट गर्नुभयो । उहाँले जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग आग्रह पनि गर्नुभयो ।

    विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष दाहालले हस्तक्षर गर्नुभएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार