बिहीबार , कात्तिक १५ गते २०८२

एउटा भब्य, उत्कृष्ट र ओजनदार कृति भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’

एउटा भब्य, उत्कृष्ट र ओजनदार कृति भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’

अखबार दैनिक
बिहीबार , कात्तिक १५ २०८२
  • एउटा भब्य, उत्कृष्ट र ओजनदार कृति भूपिनको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’

    मैले दसैँ बिदामा भूपिनको निबन्ध सङ्ग्रह पढ्ने योजनामा राखेको थिए तर पढ्न पाइएन । सम्पूर्ण पुस्तक नारायणगढमा पटकपटक फोन गर्दा पनि पुस्तक पाइएन । छठको भोलिपल्ट मात्र दौडदै गएर पुस्तक खरिद गरेर ल्याएर पढेँ । पुस्तक पढ्न हतारिनुको मुख्य कारण कवि, उपन्यासकार, लेखक तथा निबन्धकार भूपिनसँगको सापिप्यता, उनको विचार र लेखनबाट प्रभावित भएर नै हो । काठमाडौँदेखि नै उनको कविता पढ्दै आएको मैले कर्मथलोको रुपमा भरतपुरको सप्तगण्डकी क्याम्पसलाई चयन गरेपछि कवि तथा समीक्षक प्रकाश सायमीले त्यहाँ कवि भूपिनले पनि काम गर्ने जानकारी गराएका थिए । उनको सूचनाकै आधारमा भूपिनलाई पहिलोपटक चिनेको थिए । साँघुरो विचार र संकीर्ण स्वार्थको घेरा भन्दा माथि उठेर साहित्य सिर्जना गर्ने भूपिन देशकै बहुप्रतिभाशाली सर्जक हुन् । जसलाई उनको सातौं कृति ‘मध्यको उज्यालोले’ झनै प्रमाणित गरिदिएको छ । निबन्ध बिद्यामा यति उत्कृष्ट सङ्ग्रह आउनु सबै पाठकहरुको लागि खुसीको विषय नै हो । यसले सर्जक भूपिनलाई थप उचाइमा पुर्‍याएको छ भने पाठकलाई पनि ८०० रुपैयाँ खर्च गर्न खासै कन्ज्युस्याई लाग्दैन ।

    पुस्तकमा तीन खण्डमा २० वटा निबन्धलाई सङ्ग्रहित गरिएको छ । जसमा चिन्तन खण्डमा सात वटा, सम्झनामा ६वटा र पर्यावरण यात्रामा ७ वटा निबन्ध सङ्ग्रहित छन् । सप्तगण्डकी क्याम्पसमा आईसीटीको कार्यशालादेखि गोवा यात्रासम्मका साना साना दैनिक जीवनका घटनाक्रम र पात्रलाई निबन्धमा समेटेका छन् । उनले बाल्यकाल बिताएको बागलुङदेखि, कर्मथलो भरतपुरका चोक र गल्लीहरु निबन्धमा अटाएका छन् । खप्तड र से फोक्सुन्डो, अन्नपूर्ण हिमालको छेउछाउदेखि निर्बन्ध उनले उडान भरेर पृथ्वीलाई एक चक्कर लगाएका छन् । बुद्धको भनाइबाट सुरु भएको उपन्यासले बुद्ध दर्शनसहित पूर्वी र पाश्चात्य दर्शनका कयौ सन्दर्भहरुलाई सिलसिलाबद्धरुपमा जोडेको छ । धर्म, दर्शनसहित आजको वैज्ञानिक आविष्कारका चमत्कारिक विषय र सन्दर्भहरु उपन्यासमा अटाएका छन् । चित्रगुप्त भनेर परिभाषित गरिएको एआईप्रतिको भय र भविष्यवाणीले सर्जकको दूरदर्शितालाई प्रष्ट पारेको देखिन्छ । मानिस आफैँले बनाएको एआईको गुलाम बन्ने त होइन भन्ने चिन्ताले निबन्धकारलाई सताएको छ ।

    विभिन्न आशामा गाउँ छोडेर शहरतर्फ हानिने युवाहरुको पीडा उपन्यासमा छ । न मलाइ गाउँले आफ्नो मान्छ, न शहरले आफ्नो ठान्छ भन्ने अनुभूतिले सबै पाठकको मन छुन्छ । यो विषय सबैले भोगिरहेको नै विषय हो । शहरमा घर नहुनेहरुको पीडा उपन्यासमा पाइन्छ । आफ्ना बुबा, आमा र मातृभूमिप्रतिका सुनौला सम्झनाहरुले उपन्यासलाई थप सुगन्धित बनाएको छ । सर्जक भूपिनको विश्व साहित्य, संगीत, कलाप्रतिको अगाध प्रेम र गहिरो अध्ययनलाई उपन्यासको प्रत्येक हरफहरुले प्रतिविम्बित गरेको छ । मेटाफिजिकल कवि जोन डोन, पेन्टर भ्यान गग, विश्वका उत्कृष्ट चलचित्रदेखि कलाकारहरुको प्रसंगले उपन्यास पढ्दा पाठकले सिंगो पृथ्वीलाई एक फन्को लगाएजस्तो अनुभव हुन्छ । निकै ओजनदार र उत्कृष्ट कृति सङ्ग्रहित गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ