समुद्री आँधी मोन्थाले भारतको आन्ध्र प्रदेश सहित धेरै राज्यहरूमा ठुलो क्षति पुर्याएको छ । आँधीका कारण आन्ध्र प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । डेढ लाख एकड जमिनमा रहेको बाली नष्ट भएको बताइएको छ । आँधीले तेलंगाना, ओडिशा र पश्चिम बङ्गाल लगायत अन्य केही राज्यहरूलाई पनि प्रभावित पारेको छ ।
मंगलबार राति आन्ध्र तटमा ठोक्किएपछि मोन्था कमजोर भएको थियो । यद्यपि, भारी वर्षा र शक्रिशाली हुरीले रूखका जरै उखेलेको, घरहरू भत्काएको र धेरै ठाउँमा सडकहरू डुबानमा परेको बताइएको छ । राज्यका कयौँ स्थानमा बिजुली आपूर्ति र यातायात अवरुद्ध भएको छ ।
यसैबिच, मौसम विभागले आन्ध्र प्रदेश र उत्तरी तटीय क्षेत्रका केही भागहरूमा दुई दिनसम्म हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।
मंगलबार मध्यरातमा आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किएपछि चक्रवात कमजोर भएको थियो । मंगलबार मध्यराति आँधीले पश्चिम गोदावरी जिल्लाको नरसापुर नजिकै आन्ध्र प्रदेश तट पार गरेको बताइएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बलका टोलीहरू राज्यमा पुनस्र्थापना कार्यमा निरन्तर संलग्न छन् । १ लाख ८० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
तेलङ्गनामा भारी वर्षा, छ जिल्लामा रेड अलर्ट
समुद्री आँधीको प्रभावका कारण बुधबार आन्ध्र प्रदेशको सीमावर्ती तेलङ्गनामा भारी वर्षा भएको छ । वर्षाबाट सबैभन्दा बढी वारंगल, जङ्गाओं, हनुमाकोंडा, महाबुबाबाद, करीमनगर, सिद्दिपेट, यदाद्री भुवनगिरी, सूर्यपेट, नलगोंडा, खम्मम, भद्राद्री कोठागुडेम, नगरकुरनूल, पेद्दापल्ली र हैदराबाद जिल्लाहरू प्रभावित भएको बताइएको छ ।
मौसम विभागले बुधबार वारंगल, हनुमाकोंडा, महाबुबाबाद, जङ्गाओं, सिद्दिपेट र यदाद्री भुवनगिरी जिल्लाहरूको लागि रातो अलर्ट जारी गरेको छ । केही जिल्लामा ४०–५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधीबेहरी र हुरी चल्न सक्ने बताइएको छ । एजेन्सी
