काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगन गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी निर्धारित बैठक स्थगन गरिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण बैठक स्थगन गरिएको उनले बताए । उक्त बैठक भोलि अपराह्न ४ बजे बस्ने तय गरिएको उनले जानकारी दिए ।
स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।