कर्णाली । कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार यही मङ्सिर १६ गते रिक्त पदका लागि हुने उपनिर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका हुन् ।
कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिका दैलेखका अध्यक्ष, सर्केगाड गाउँपालिका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात/सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पार्वती पुन, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)बाट पवित्रा जैशीले मनोनयन गर्दा गरेका छन् ।
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, रास्वपाबाट प्रकाशकुमार बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी, दुल्लु नगरपालिका–१३ दैलेखको वडाध्यक्ष पदका नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, रास्वपाबाट रामबहादुर शाही र राप्रपाबाट रेशम मल्ल गरी ६ जनाले उम्मेदवारी दिएका छन् ।
दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित कांग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा विसं २०७९ माघ २७ गते निधन भएको थियो । एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाका वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा विसं २०८० माघ २२ गते निधन भएको हो ।
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा बस दुर्घटना हुँदा विसं।२०८१ भदौ ४ गते मृत्यु भएको थियो । उहाँ माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका भएका थिए ।
कांग्रेसका सविता बुढा, एमालेका जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट सङ्गीता शाही र रास्वपाबाट बाँचा बुढाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सो पदका रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पाको रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको विसं २०८० माघमा मृत्यु भएको थियो ।
तिलागुफा नगरपालिका–४ कालीकोटको वडाध्यक्ष पदका लागि छ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र रास्वपाबाट गगन बमले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही विसं २०७९ असोज २३ गते राँचुलीमा आएको खोलाको बाढी परी बेपत्ता भएका थिए ।
त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ जाजरकोट मा हुने वडाध्यक्षको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको विसं २०७९ असार ४ गते निधन भएको थियो ।
रुकुमपश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको विसं २०८० माघ २० गते जण्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा कांग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उम्मेदवारी दिएका छन् । वीरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ । –रासस
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    