भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव आफन्तले सनाखत गरेका छन्।बिहीबार दिउँसो ट्रकको ठक्करबाट ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला मृत्यु भएको खुलेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। आज (शुक्रबार बिहान) मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए।
शव सनाखतपछि अब पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी कार्कीले जानकारी दिए । बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ पक्राउ परेका छन्।
तर, दुर्घटनालगत्तै हिजो प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला भने प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो।