काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार (आज) आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो ।
गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । यसरी सञ्चालन आय एक अर्ब ८१ करोड तीन लाख १५ हजारले घटेको टेलिकमले जनाएको छ ।
गएको आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको टेलिकमले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको खुद नाफा सात अर्ब ९२ करोड एक लाख ५५ हजारको तुलनामा एक अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा छ ।