प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको बताइन्। उनले आगामी दिनमा कार्यक्रम गर्दा त्यस्तो नगर्न ध्यानाकर्षण समेत गराइन्।
उनले भनिन्,‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एण्ड यतिको कार्यक्रममा बोलाइयो। हामी गयौं। त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहारले हामी दुःखित भएका छौं। यस्तो व्यवहार अबदेखि कुनै पनि मन्त्रालयबाट नहोस्।’ उनले मन्त्रालयका सचिवले नै नियतवश अपमानजनक व्यवहारले दुखी तुल्याएको बताइन्।
-न्युज एजेन्सी नेपाल
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    