काठमाडौं । नारायणगढ—मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुबै बस त्रिशुली नदीमा आज बिहान खस्दा करीब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेतसरकारलाई आग्रह गरे । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको छ ।