काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् । बिहीवार बालुवाटारमा स्वर्गीय सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उनले सो धारणा राखेका हुन् ।
जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्नु अहिलेको आवश्यकता भएको पनि उनले बताए । उनले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई माथि उठ्न दिन नहुने बताए ।
कार्यक्रममा श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए । ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजू अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ,’ श्रेष्ठले भने, ‘अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    