काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संघीय संसद्लाई जानकारी दिएको छ । शुक्रबार एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएकाले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रमा उल्लेख गरिएको छ ।
एमालेको पत्रमा भनिएको छ,"सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा (एमाले)को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा (एमाले)संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।" प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    